शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

को हुन् मुख्य योजनाकार इल्ताफ ? सुनको ‘कमिसन खान’ घटनास्थल नै परिवर्तन

दैनिक नेपाल २०७७ साउन १७ गते ७:३५

काठमाडौं, १७ साउन । महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहाललाई मंगलबार बिहान करिब ९ बजे मोबाइलमा कल आयो, ‘तस्करीको सुन बोकेको बा६च ५५१९ नम्बरको स्कार्पियो कमलपोखरीबाट कमलादीतर्फ आउँदै छ ।’ फोन दरबारमार्ग वृत्तकै घुमुवा प्रहरी प्रसन्न श्रेष्ठले गरेका थिए । फोन गरेर प्रसन्न गाडीको पछि दगुरे ।

प्रसन्नकै साथमा अर्का घुमुवा प्रहरी बहादुरसिंह कठायत थिए । उनीहरूसँग भारत गुजरातका कौशल पटेल थिए । कौशलले गाडीमा रहेका एक व्यक्तिलाई फोन गरेर प्रहरीले पिछा गरेको सूचना दिँदै ‘सामान दिएर भाग्नू’ भने ।

उता डीएसपी दाहालले कमलपोखरीबाट प्रज्ञा प्रतिष्ठान र दरबारमार्ग (महेन्द्र सालिक) तर्फ जाने बाटो घेरा हाल्न लगाए । सवारी हुलियाको खोजी गरियो । प्रसन्न गाडी पछ्याउँदै सुन्धारा पुगिसकेका थिए । कौशल सम्पर्कमै थिए । स्कार्पियो सहिदगेटबाट त्रिपुरेश्वर जाने बाटोतर्फ रोकियो । गाडीमा चालकसहित ३ जना रहेकामा एक व्यक्ति झोला बोकेर ओर्लिए । त्यो झोला प्रसन्नलाई दिए । त्यसपछि गाडीमा रहेका तीनै जना त्रिपुरेश्वर हुँदै बाटो लागे । यता कौशल केही बेरपछि पक्राउ परे । त्यसअघि कौशल घुमुवा कठायतसँगै थिए ।

प्रहरी स्रोतका अनुसार कुनै व्यापारी वा व्यक्तिलाई सामान बेच्नका लागि प्रबन्ध मिलाउने क्रममा सूचना चुहिएको थियो । प्रसन्नले झोलामा भएको सामानमध्ये सुनजस्तो १ केजी पहेँलो धातु बागबजारस्थित मोबाइल पसल सञ्चालक उमेश श्रेष्ठको कोठामा लगेर राखे र बाँकी आफूले कमलादीबाट बरामद गरेको भन्दै डीएसपी दाहाललाई बुझाए । कमलादीमा तस्कर झोला मिल्काएर भागेको भन्दै डीएसपी दाहालले काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीलाई जानकारी दिए ।

ज्ञवाली आफैं सुनचाँदी व्यवसायी महासंघ पुगेर परीक्षण गर्दा साढे १४ केजी सामान सुनले लेपन गरेको चाँदी र ७ सय ५० ग्राम सक्कली सुन भएको पाइयो । यसको मूल्य करिब ५८ लाख जति पर्ने देखियो । साथमा २ थान पेस्तोल पनि थियो । एकातिर तस्करीमा संलग्न व्यक्तिबाटै झोला मिल्काएको भनिनु र अर्कातिर घटनास्थल कमलादी भएको जानकारी स्वयं डीएसपी दाहालले परिसरमा गराउनुले घटना शंकास्पद बन्यो । चौबीसै घण्टा प्रहरी पहरा रहने क्षेत्रबाट कसरी एकाएक गाडी गायब बन्यो, प्रहरी गाडी खोज्नभन्दा सुन परीक्षण गर्नतिर किन केन्द्रित भयो भन्ने प्रश्न उब्जियो ।

वृत्तले दिएको जानकारीअनुसार नै परिसर प्रमुख ज्ञवालीले पत्रकार सम्मेलन गरेर घटनास्थल कमलादी भएको र त्यहींबाट झोला बरामद गरिएको जानकारी दिए । ‘तर घटनास्थल सुन्धारा रहेछ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘दरबारमार्गका घुमुवाले सामान बुझेका कारण प्रहरी वृत्त जनसेवा घटनास्थल भए पनि कमलादी उल्लेख गरियो । सक्कली सुन भएको भन्ठानेर त्यसबाट आउने कमिसन/सुराकी भत्ताको लोभमा परेको देखिन्छ ।’

गाडी फेला नपरेपछि सूचना दिने घुमुवा प्रहरी कठायत नै पक्राउ परे । उनको बयानका आधारमा अर्का घुमुवा प्रसन्न समातिए । प्रसन्नको बयानपछि उमेशको कोठा खानतलासी गर्दा १ केजी सुनजस्तो धातु बरामद भयो । उमेश पक्राउ परे । उनीहरूसँग सम्पर्कमा रहेका भारतीय नागरिक कौशल पनि समातिए । ‘हामीलाई सक्कली सुन भनिएको थियो, त्यही भएर १ केजी ४ जनाले बाँड्ने गरी राखेर बाँकी प्रहरीमा बुझाएका हौं,’ एक घुमुवाले बयानमा भनेका छन् । घटनास्थलको गलत जानकारी र अपराध अनुसन्धानमा लापरबाही गरेको भन्दै महानगरीय प्रहरी कार्यालयमा दरबारमार्गका डीएसपी दाहाललाई फिर्ता बोलाइसकेको छ । ‘गलत विवरण दिनुका साथै प्रभावकारी अनुसन्धान गर्न नसकेपछि डीएसपीलाई फिर्ता बोलाएर अर्कैलाई वृत्तमा पठाइएको छ,’ स्रोतले भन्यो ।

अनि खुल्यो अपराधको नालीबेली

अनुसन्धानमा संलग्न स्रोतका अनुसार घुमुवा प्रहरीकै मिलेमतोमा गाडीलाई भगाइएको थियो । घुमुवा र सुरुको सूचना दिने कौशलसँग रहेका मोबाइल नम्बरको प्राविधिक अनुसन्धानमा प्रहरी जुट्यो । सहिदगेट–सुन्धाराबाट गाडीमा भागेका मानिस ललितपुरको नखिपोट क्षेत्रसम्म मोबाइल सम्पर्कमा रहेको खुल्यो । स्रोतका अनुसार उनीहरू थिए– बाराका इल्ताफ हुसेन अन्सारी र उनका सहयोगी भारत गुजरातका सञ्जय पटेल । तेस्रा व्यक्ति निलेश सखिया थिए । नखिपोटमा पुगेपछि उनीहरूले मोबाइल अफ गरेका थिए । निलेश, विजय पटेल र देवान पटेल एक ठाउँमा भेटिएर काठमाडौंबाट भागे । भाग्नुअघि इल्ताफलाई उनीहरूले सम्पर्क गरेको मोबाइल नम्बरका आधारमा महाशाखाको टोली काठमाडौंबाट नवलपरासीतर्फ लाग्यो । पूर्वी नवलपरासी जिल्ला प्रहरी र महाशाखाको टोलीले दुम्कीबास पुगेका बेला गुजरातकै देवान र विजय तथा निलेश बुधबार पक्राउ परे ।

बिहीबार दिउँसो नै इल्ताफले चलाएको गाडी नखिपोटकै अम्बरबहादुर राईको निर्माणाधीन घर परिसरबाट बरामद भयो । निलेश घुमुवा प्रहरी प्रसन्नलाई झोला दिने व्यक्ति हुन् । गाडी भने इल्ताफले चलाएका थिए ।

नवलपरासीबाट पक्राउ परेका तीनै जनालाई काठमाडौं ल्याएर प्रहरीले अनुसन्धान गरिरहेको छ । इल्ताफ र सञ्जय फरार छन् । महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले उनीहरूको लुटपाट र ठगीको नियत रहेको दाबी गर्छन् । ‘पहेँलो धातुले लेपन गरेको वस्तुलाई सुन भनेर व्यापारी ठग्न र लुटपाट गर्न खोजिएको देखिन्छ,’ थापाले कान्तिपुरसँग भने, ‘बीचमै सूचना चुहिएकाले सामान छोडेर भागेका हुन सक्छन् ।’

घटनास्थल, उद्देश्य र घटनामा फरार भएका व्यक्तिबारे अनुसन्धान भइरहेको उनले बताए । फरार भएका व्यक्तिको पनि पहिचान भइसकेकाले छिट्टै पक्राउ पर्ने थापाले बताए । पक्राउ परेकाहरूसँग बयान लिइरहेकाले सबै कुरा अहिले नै भन्न नसकिने उनको भनाइ छ ।

को हुन् मुख्य योजनाकार इल्ताफ ?

इल्ताफ हुसेन अन्सारी लुटपाट र तस्करीका मुख्य योजनाकार रहेको प्रहरी स्रोत बताउँछ । उनी बाराको साविक प्रस्टोखा–२, हरपुरका बासिन्दा हुन् । उनको ललितपुर नखिपोटमा पनि घर छ । इल्ताफ जाली नोट कारोबारमा अदालतबाट सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् । हतियारको अवैध कारोबारमा पनि उनी मुछिएका थिए । विगतमा तराईमा सक्रिय सशस्त्र भूमिगत समूहसँग पनि उनको साँठगाँठ रहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछन् । वीरगन्जलगायत प्रदेश २ का जिल्ला जोडिएका नेपाल–भारत सीमा क्षेत्रमा बस्ने गरेका इल्ताफ कहिलेकाहीं मात्रै काठमाडौं आउने गरेको अनुसन्धानमा संलग्न स्रोतको भनाइ छ । उनी अपराध धन्दामा आफूलाई मुन्ना खान, सदरुल अन्सारी, सदरुल मियाँलगायत नाममा चिनाउँथे ।

इल्ताफलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ०७२ जेठ ३० गते ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको थियो । त्यतिबेलाको पक्राउपछि अनुसन्धान गर्दा भेटिएको गाडी नै मंगलबार प्रयोग भएको पनि खुलेको छ । यातायात कार्यालयबाट लिइएको विवरण, उनको अपराध पृष्ठभूमि र पछिल्लो पटक सुनचाँदी र पेस्तोल प्रकरणलाई जोडेर अनुसन्धान भइरहेको थापाले बताए । ‘सवारी चालक अनुमतिपत्र, सवारी किताब, च्यासिस नम्बर र इन्जिन भिडाएर हेर्दा बरामद गाडीमा राखिएको नम्बर सक्कली हो,’ उनले भने ।

बरामद गाडी अन्सारी र उनका आफन्त फुलनाज बेगमका नाममा दर्ता छ । ०६५ सालमा साउथ एसियन डेभलपमेन्ट सेन्टरका नामबाट अन्सारीले उक्त गाडी खरिद गरेका थिए । ०६७ जेठ २६ गते ललितपुर जिल्ला अदालतले जाली नोटको कारोबारमा अन्सारीलाई ३ वर्ष कैद र २ करोड ६१ लाख ९ हजार रुपैयाँ जरिवाना असुल्ने फैसला सुनाएको थियो । फैसला सुनाइँदा उनी फरार थिए । पाँच वर्षपछि पक्राउ परेर उनी ३ वर्ष जेल भुक्तान गरेर छुटेका थिए । मातृका दाहालले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित