बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोभिड–१९ : काठमाडौं उपत्यका अत्यधिक जोखिममा

दैनिक नेपाल २०७७ साउन १७ गते ६:३६

काठमाडौं, १७ साउन । राजधानी काठमाडौंमा पनि कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्न थालेको छ । शुक्रबार मात्रै काठमाडौं उपत्यकाका ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको अवधिमा उपत्यकामा ३८ जना संक्रमित थपिएको जानकारी दिए ।

संक्रमितमध्ये काठमाडौंका ३२, ललितपुरका ५ र भक्तपुरका एक जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । बिहीबार मात्र उपत्यकाका ४५ जनामा संक्रमण पुष्टि भएको थियो ।

नक्सालस्थित नेपाल प्रहरीको मुख्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी संक्रमित भएका छन् । पछिल्लो तथ्यांकअनुसार मु्ख्यालयमा ७२ जना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार राजधानी छिर्ने नाकाहरू नागढुंगा, फर्पिङ र साँगामा कुल १० हजार २०५ जनाको स्वाब संकलन गरिएको र केहीको रिपोर्ट आउन बाँकी रहेकाले संक्रमितको संख्या अझ बढ्न सक्ने बताइएको छ ।

१ साउन देखि १६ गतेसम्ममा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । जसमध्ये १० जना पर्साका छन्, जहाँ कोरोना संक्रमण र मृत्युको दर बढिरहेको छ । वीरगन्ज जस्तै काठमाडौं उपत्यकामा पनि जोखिम बढिरहेको स्वास्थ्यकर्मीले बताएका छन् । प्रहरीको तथ्यांकअनुसार थानकोट, साँगा र फर्पिङ नाकाबाट दैनिक करिब ५ हजार मानिस उपत्यका प्रवेश गर्ने गरेका छन् ।

२६ असारबाट सार्वजनिक यातायात सञ्चालनमा आएदेखि १५ साउनको अवधिसम्म १ लाख २० हजार मानिस उपत्यका प्रवेश गरेको प्रहरीले जनाएको छ । जथाभावी मानिसहरू उपत्यका प्रवेश गरेपछि नै राजधानी काठमाडौं जोखिममा परेको हो । राजधानी जोखिममा परेपछि सरकारले राति ७ बजेदेखि बिहान सात बजेसम्म उपत्यका प्रवेशमा रोक लगाएको छ । तर, त्यसको सशक्त कार्यान्वयन हुन नसक्दा जोखिम बढिरहेको पाइएको छ । राजधानी दैनिकले समाचार छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित