मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

बामदेवको प्रस्तावलाई कुन–कुन नेताले दिए समर्थन, के हुँदैछ नेकपाभित्र ?

दैनिक नेपाल २०७७ साउन १६ गते १३:४०

काठमाडौं, १६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुपष्कमल दाहाल ‘प्रचण्ड’समक्ष मंगलबार राखेको ६बुँदे प्रस्तावकै सेरोफेरोमा पार्टीभित्र सहमति जुट्ने सम्भावना बढ्दै गएको छ ।

उनको प्रस्तावलाई सचिवालय र स्थायी कमिटीको बहुमत सदस्यले समर्थन जनाएका छन् । यस्तै ओली समूहका १२ जना स्थायी कमिटी सदस्यले पूर्ण समर्थन जनाएका छन् भने प्रचण्ड समूहका ९ जनाले पनि उक्त प्रस्तावमा समर्थन जनाइसकेको बताइएको छ ।

त्यसैगरी वरिष्ठ नेता माधवकुमार नेपाल समूहका ५ जनाले पनि उक्त प्रस्तावको पक्षमा समर्थन जनाएका छन् । गौतमनिकट स्रोतका अनुसार स्थायी कमिटीका ४४ मध्ये हालसम्म २६ जनाले गौतमको प्रस्तावमा समर्थन गरेका छन् ।

प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’, महासचिव बिष्णु पौडेललगायत ४ जना सचिवालय सदस्यले गौतमको प्रस्ताव सकारात्मक भन्दै समर्थन जनाएका छन् ।

यस्तै ओली पक्षधरका १२ जना स्थायी कमिटी सदस्यहरु किरण गुरुङ, प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, बिष्णु रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल, सुवास नेम्वाङ, छविलाल विश्वकर्मालगायतले पनि प्रस्तावको समर्थन गरेका छन् ।

यसैगरी पूर्व माओवादीतर्फका स्थायी कमिटी सदस्यहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, हरिबोल गजुरेल, मणि थापा, देवेन्द्र पौडेल र चक्रपाणी खनाललगायतले पनि प्रस्तावको समर्थन गरेका छन् ।

तर, माओवादी खेमाबाट नेतृत्व गर्ने प्रचण्ड, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुषाल, मातृका यादव, लिलामणि पोखरेल, गणेश साह भने ओलीले प्रधानमन्त्री र अध्यक्ष मध्ये एक पद त्याग गर्नुपर्ने अडानमा कायमै छन् ।

यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल समूहका भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराईले गौतमको प्रस्तावलाई सकारात्मक रुपमा लिएका भए पनि स्वयम् माधव नेपालसहित झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, बेदुराम भुषाल, भीम आचार्य, मुकुन्द न्यौपाने र युवराज ज्ञवालीले भने गौतमको प्रस्तावमा समर्थन जनाउन तत्काल नसकिने प्रतिक्रिया दिएका छन् ।

उनीहरुले ‘एक व्यक्ति एक पद’ को अडान कायमै राखेका छन् ।

मंगलबार नेता गौतमले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने अडान छाडेर ओलीलाई ५ वर्ष नै सरकार चलाउन दिनु पर्ने प्रस्ताव राखेका थिए ।

उनको प्रस्तावमा आगामी महाधिवेशनसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहनु पर्ने, पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने र आगामी दिनदेखि पार्टीको सम्पूर्ण बैठकहरू पार्टी कार्यालयमै आयोजना गर्नु पर्ने उल्लेख छ ।

त्यसैगरी मन्त्रीपरिषद् पुनर्गठन, संवैधानिक निकायमा नियुक्ति र संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुअघि पार्टी सचिवालयको परामर्श लिनुपर्ने उनको भनाइ छ ।

सरकार सञ्चालनका क्रममा पार्टीले हस्तक्षेप नगर्ने तर पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शलाई ध्यान दिइनुपर्ने पनि नेता बामदेवको प्रस्ताव छ । यस्तै प्रशासन तथा सुरक्षा निकायमा पदोन्नति र सरुवाका लागि निश्चित मापदण्ड तय गर्नु पर्ने बामदेवको सुझाव छ ।

गौतमले अगाडि सारेको प्रस्तावमा जुटेको समर्थनलाई हेर्ने हो भने उनकै प्रस्तावको वरिपरि रहेर नेकपाले अगामी छलफल चलाउने देखिन्छ भने यसैका आधारमा सहमतिको विन्दु पहिल्याउन समेत सहज हुने अनुमान गर्न सकिन्छ ।

यद्यपि, गौतमले प्रस्ताव सार्वजनिक गरेयता दुई अध्यक्षबीच छलफलको वातावरण नबनेको तथा पार्टीको औपचारिक बैठक नबसेको अवस्थामा प्रस्तावमाथि औपचारिक छलफल भने हुन पाएको छैन ।

प्रतिक्रिया
सम्बन्धित