बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अध्यक्ष प्रचण्डले महासचिव विष्णु पौडेललाई बोलाएर के भने ?

दैनिक नेपाल २०७७ साउन १६ गते १२:३०

काठमाडौं, १६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिँदै गएको विवादका कारण मंगलबारयता पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सम्वादको वातावरण बन्न सकेको छैन ।

खासगरी गत मंगलबार ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक केपी ओलीले अकस्मात स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्डलगायत सचिवालयका अधिकांश नेताहरु रुष्ट बनेका छन् ।

ओलीले बैठक स्थगित गरेपछि प्रचण्डले ‘बहुमत स्थायी कमिटी बैठक’ सञ्चालन गरेपछि केपी ओली पनि प्रचण्डलगायत नेतासँग रुष्ट छन् । ‘बहुमत स्थायी कमिटी बैठकले ओलीसँग सम्वाद गरेर निकास निकाल्न प्रचण्डलाई अख्तियारी दिएको भए पनि अध्यक्षद्वयबीच सम्वादको वातावरण बनेको छैन ।

यसैबीच बिहीबार अध्यक्ष प्रचण्डले पार्टी महासचिव विष्णु पौडेललाई बोलाएर छलफलको वातावरण बनाउन आग्रह गरेका छन् । दाहाल–पौडेलको भेटमा अध्यक्ष प्रचण्डले निकास निकाल्ने गरी छलफलमा जुट्ने वातावरण बनाउन पौडेललाई आग्रह गरेको बताइएको छ ।

सरकार र पार्टी सञ्चालनको तौरतरिका फेर्नेलगायत विषयमा छलफल गरी निकास निकाल्नु पर्ने भएकाले त्यसै अनुसार केपी ओलीलाई सम्झाउन दाहालले पौडेललाई आग्रह गरेका छन् ।

तर, पौडेलले ओलीलाई यसबारे जानकारी दिए पनि समय व्यवस्थापन भने भएको छैन । अध्यक्ष प्रचण्ड विष्णु पौडेलको जवाफ कुरेर बसेका छन् भने अन्य नेताहरुले चाँडो सम्वाद गरी निकास निकाल्न प्रचण्डलाई दाबाब दिइरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित