बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

चिकित्सक, नर्स र नगरप्रमुखसहित थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

दैनिक नेपाल २०७७ साउन १६ गते ११:३९

वीरगञ्ज, १६ साउन । वीरगञ्जमा चिकित्सक, नर्स र नगरप्रमुखसहित थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यहाँस्थित नारायणी अस्पतालको प्रयोगशालाको बिहीबार आएको रिपोर्ट अनुसार ३ जना चिकित्सक, ६ जना नर्स र १ जना जनप्रतिनिधिसहित थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगन्जको विभिन्न वडामा गरिएको ‘मास टेस्टिङ’सहितको रिपोर्टमा उक्त संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

रिपोर्ट अनुसार ११ जना महिलासहित १८ वर्षदेखि ७५ वर्ष उमेर समूहका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पर्सा जिल्लामात्र नभई यसमा वीरगञ्जमै बस्दै आएका बारा र रौतहटका बासिन्दा पनि छन् ।

संक्रमितहरुमा नारायणी अस्पतालका ४४ र ४० वर्षका दुई जना अर्थोपेडिसियन र एक जना ३६ वर्षीय डाक्टरसहित ३ जना चिकित्सक पनि छन् । तीनै जना पुरुष हुन । त्यसैगरी यहाँस्थित नारायणी अस्पताल र एडभान्स मेडिकेयर हस्पिटलका ६ जना स्टाफ नर्सहरुमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पतालमै डायायलोसिस गराउने मृगौला रोगीहरु पर्सा पोखरीयाकी ७५ वर्षीया महिला, बाराको निजगढ घर भएका ६५ वर्षीय पुरुष र बारा जितपुरका २४ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै वीरगन्ज पथलैया करिडोरका बेग्लाबेग्लै उद्योगमा कार्यरत ४ जना कामदारहरुमा पनि कोरोना पुष्टि भएको छ ।

यसैबीच यसअघि वीरगञ्ज महानगरपालिकाका प्रमुख बिजयकुमार सरावगीमा पनि कोरोना भाइरसको संक्रमण पाजेटिभ देखिएको उनी आफैले आफ्नो फेसबुकमा लेखेका छन् । उनले भने काठमाडौंमा स्वाब परीक्षण गराएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित