शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सुन प्रकरणमा काठमाडौं प्रहरी परिसर विवादमा

दैनिक नेपाल २०७७ साउन १५ गते ६:१४

काठमाडौं, १५ साउन । राजधानीको कमलादीमा भेटिएको नक्कली सुन र सो प्रकरणबारे अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा समिति बनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले सो प्रकरणबारे अनुसन्धान गर्न महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दीपक थापाको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएका हुन् ।

अपराधीले सामान फ्याँकेर आफू बच्नका लागि भागेको देखियो । सामान समात्न सकियो, गाडी र मान्छे समात्न सकिएन । कहाँ र कसरी कमजोरी भयो

मंगलबार कमलादीबाट बरामद भएको भनिएको सुनजस्तै देखिने वस्तु परीक्षण गर्दा साढे १४ किलो चाँदी र आधा किलो सुन रहेको पुष्टि भएको थियो । त्यसबखत दुई थान पेस्तोलसमेत बरामद भएको प्रहरीले बताउँदै आएको छ । तर, सो सामान बोकेर आएको स्कार्पियो भने चेकजाँच छल्दै सामान फ्याँकेर भागेको थियो ।

‘अपराधीले सामान फ्याँकेर आफू बच्नका लागि भागेको देखियो । सामान समात्न सकियो, गाडी र मान्छे समात्न सकिएन । कहाँ र कसरी कमजोरी भयो, त्यसको अनुसन्धान हुन्छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी पोखरेलले राजधानीसँग भने ।

समितिमा महानगरीय प्रहरी कार्यालयका एसएसपी किरण बज्राचार्य, एसपी सोमेन्द्रसिंह राठौर, एसपी दुर्गा दाहाल र डिएसपी राजकुमार केसीलाई सदस्यको जिम्मेवारी दिइएको छ ।

काठमाडौं प्रहरीको लापरबाहीले १४ किलो चाँदी र आधा किलो सुन बोकेको गाडीका साथै अभियुक्त भाग्न सफल भएको भन्दै प्रहरीको आलोचनासमेत हुँदै आएको छ । स्रोतका अनुसार सो प्रकरणमा प्रहरीले देखाएको गाडी नम्बरसमेत गलत छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख श्यामलाल ज्ञवालीले मंगलबार भेटिएको सुन जस्तै देखिने पदार्थमा आधा किलो मात्र सक्कली सुन भएको र बाँकी चाँदी रहेको भन्दै पत्रकारसम्मेलन गरेका थिए । उनले सो सामान बोकेर आएको गाडी प्रहरी देख्नेबित्तिकै झोला फ्याँकेर भागेको भनेका थिए ।

काठमाडौं प्रहरीले सो गाडी भागेपछि समेत आफ्नो निकायमा जानकारी नगराएको र भाग्ने गाडीको जाँचबुझमा समेत आलटाल गरेको पाइएको प्रहरी अधिकृतहरू नै बताउँछन् । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित