बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

इजरायलका येर नेतन्याहूले हिन्दूहरूसँग माफी मागे

दैनिक नेपाल २०७७ साउन १४ गते ७:०४

लण्डन, १४ साउन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका छोरा येर नेतन्याहूले हिन्दुहरूसँग माफी मागेका छन् ।

२९ वर्षीय येरले गत आइतबार ट्वीटरमा देवी दूर्गाको एक तस्वीर पोष्ट गरेका थिए, जसमा सरकारी वकिल लिआत बेन अरीको टाउको जोडिएको थियो । लिआत बेन अरीले बेन्जामिन नेतन्याहुविरुद्धको भ्रष्टाचारको मुद्दा हेर्दै आएकी छन् ।

बेन्जामिनका छोरा येरले पोष्ट गरेको दूर्गा देवीका हातहरुबाट अभद्र इशारा गरेको पनि देखिन्छ । देवी दूर्गाको बाहन सिंहको अनुहारमा इजरायलको महान्यायाधिवक्ताको तस्वीर जोडिएको थियो । त्यो तस्वीरसँगै उनले लेखेका थिए, ‘आफ्नो औकात बुझ तुच्छ व्यक्तिहरु हो ।’

येरले यस्तो फोटो शेयर गरेपछि उनको तीव्र आलोचना भएको थियो । त्यसपछि सोमबार उनले ट्वीटरमै माफी मागेका हुन् । येरले लेखेका छन्, ‘मैले एक व्यंग्यात्मक पेजबाट मिम शेयर गरेको थिएँ, जसमा इजरायलका नेताहरुको आलोचना गरिएको थियो । यो तस्वीरको सम्बन्ध हिन्दु धर्मप्रतिको आस्थासँग पनि छ भन्ने मलाई थाहा थिएन । मलाई जब मेरा भारतीय साथीहरुले त्यसबारे जानकारी दिए, त्यसपछि मैले मेरो ट्वीट डिलिट गरिदिएँ । म यसको लागि माफी माग्दछु ।’

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका छोरा येर सामाजिक सन्जालमा निकै सक्रिय छन् । धेरैजसो उनले हिब्रु भाषामा सामाजिक सन्जालहरुमा लेख्ने गर्दछन् तर माफी मागिएको ट्वीट भने उनले अंग्रेजी भाषामा लेखेका छन् ता कि धेरैभन्दा धेरै हिन्दुहरुले त्यसलाई पढेर बुझुन् ।

येर यसअघि पनि बिभिन्न विवादमा फसेका छन् । जुलाई महिनाको सुरुमा उनले एक महिला पत्रकार डाना वायससँग पनि माफी माग्नु परेको थियो, किनभने येरले लेखेका थिए– प्रतिष्ठित समाचार वाचकहरू शारीरिक सम्झौता गर्ने विन्दुमा पुगेका छन् ।

प्रतिक्रिया
सम्बन्धित