२ कार्तिक २०८३, सोमबार

कृषिमा बेथिति : परामर्शमै १० अर्ब स्वाहा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका ११ आयोजनाले परामर्श सेवामा पछिल्लो ६ आर्थिक वर्षमा झन्डै १० अर्ब रुपैयाँ सकेका छन्। किसानका नाममा सीमित व्यक्ति–समूह मालामाल भएको यसले देखाएको छ।

यी आयोजना किसानको उन्नति र खाद्य तथा पशुपन्छी उत्पादनमा आत्मनिर्भरताका नाममा वैदेशिक दातृ निकाय र सरकारको खर्चमा सञ्चालनमा छन्। परामर्श सेवाका नाममा कुल बजेटको १ प्रतिशतदेखि ४० प्रतिशतसम्म खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले यो विषयलाई गम्भीर भनेको छ।

आईफ्याडको सहयोगमा कृषि क्षेत्र विकास कार्यक्रम, उच्च मूल्य कृषि वस्तु विकास आयोजना र किसानको लागि उन्नत बीउबिजन कार्यक्रम सञ्चालित छन्। विश्व बैंकको सहयोगमा जलवायु प्रकोप समुत्थान निर्माण आयोजना, कृषि तथा खाद्य सुरक्षा आयोजना, व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट), नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना छन्। आईडीएको सहयोगमा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, एडीबीको सहयोगमा साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना र उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजना सञ्चालित छन्। यसमध्ये कतिपयको अवधि सकिएको छ।

आयोजना सञ्चालन गर्दा सरकारी निकायमा उपलब्ध जनशक्तिको उपयोग गरी परामर्शदाता खर्चमा कमी ल्याउनुपर्ने सुझाव महालेखाले आफ्नो प्रतिवेदनमार्फत दिएको छ। यस्ता आयोजनाले कुल लगानीको झन्डै ७५ प्रतिशत प्रशासनिक क्षेत्रमा र २५ प्रतिशत मात्रै किसानको हकमा प्रत्यक्ष लगानी गर्ने गरेको फेला परेको छ।

आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म ९ अर्ब ९४ करोड ९० लाख रुपैयाँ परामर्श सेवा शीर्षकमा सकिएको छ। प्रतिवेदनअनुसार २०७५/७६ मा ८ आयोजनाले १ अर्ब ९४ करोड २९ लाख रुपैयाँ यो शीर्षकमा सकाएका छन्। प्रतिवेदनले समावेश गरेको तथ्यांकअनुसार व्यावसायिक कृषि तथा व्यापार आयोजनाले ८१ करोड ५२ लाख रुपैयाँ सकेको छ।

यस्तै, उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले ३५ करोड ८९ लाख, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाले २६ करोड २८ लाख, किसानका लागि उन्नत बीउ बिजन कार्यक्रमले २१ करोड २८ लाख, जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाले १६ करोड ४३ लाख, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले १२ करोड १७ लाख, कृषि क्षेत्र विकास कार्यक्रमले ६७ लाख र खाद्य तथा पोषण सुधार आयोजनाले ५ लाख रुपैयाँ खर्च गरेका छन्। यसमध्ये चार आयोजनामा २४ व्यक्तिलाई व्यक्तिगत रूपमा छनोट गरी २ करोड ७७ लाख २१ हजार रुपैयाँ भुक्तानी गरेको पाइएको छ। राजेश बर्माले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।