२ कार्तिक २०८३, सोमबार

जबजले झस्किए दाहाल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । नेकपा अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीभित्रका पूर्वमाओवादी धारका नेतालाई खुमलटार बोलाएर छलफल चलाएका छन् । अर्का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षबाट जनताको बहुदलीय जनवाद (जबज)को कुरा उठेपछि दाहालले आफू निकट नेताको धारणा बुझेका हुन् ।

दाहालले शनिबारको सचिवालय बैठकलगत्तै राष्ट्रपति निवासमा आफूलाई बोलाएर महाधिवेशनपछि एकल अध्यक्षमा सहयोग गर्ने तर त्यसका लागि जबज स्वीकार गर्नुपर्ने प्रस्ताव ओली पक्षबाट आएको सुनाएका थिए । तर, त्यस्तो प्रस्ताव आफूले अस्वीकार गरेको उनको भनाइ थियो ।

‘राष्ट्रपतिजीसँग भएको छलफलमा मलाई महाधिवेशनपछि पार्टीको एकल अध्यक्ष बन्ने प्रस्ताव आएको थियो । तर, त्यसका लागि जबजलाई स्वीकार गर्नुपर्ने प्रस्ताव आयो । मैले त्यस्तो हुन्न भनेको छु’, दाहालको भनाइ उद्धृत गर्दै एक नेताले अन्नपूर्णसँग भने, ‘मंसिरमा महाधिवेशन सम्भव पनि छैन । जबजलाई पनि मान्ने कुरालाई स्वीकार गरेको छैन ।’

नेपालले पनि आइतबार दाहाल निवासमै भएको छलफलमा आफू जबजको पक्षपाती भएकाले अब जबजको बहस खुला गर्नुपर्ने, आगामी महाधिवेशनबाट यसलाई कार्यदिशा बनाएर जानुपर्ने धारणा राखेका थिए । यसबाट झस्किएका दाहालले स्थायी गुटबन्दीभन्दा पनि मुद्दाका आधारमा सहकार्य गरेर जाने नीति अवलम्बन गर्नुपर्ने बताएका हुन् ।

नेकपाभित्र तीन धार (ओली, दाहाल र नेपाल)मध्ये ओली र नेपालका आफ्नो धार संगठित देखिए पनि पूर्वमाओवादी धारमा भने एकता देखिएको थिएन । केही नेता दाहाललाई ओलीतिर र केही नेपालसँगको समीकरणमा तान्ने प्रयासमा थिए । यसले पूर्वमाओवादी धारभित्र देखा परेको दुई धारलाई एकताबद्ध बनाउने प्रयासस्वरूप दाहालले नेताहरूलाई बोलाएका थिए ।

सुरुमै दाहालले पूर्वमाओवादीको बैठक बोलाउनु उपयुक्त नभए पनि परिस्थिति अलिक जटिल भएकाले आफूले सुझाव लिन बोलाएको बताएका थिए । उनले विचार राजनीतिका विषयमा एकताबद्ध हुन अपिल गरे । पूर्वमाओवादीहरू एक ठाउँमा आउन दाहालले आग्रह गरे पनि सुझाव दिने क्रममा नेताहरूमा दुई धार देखा परेको थियो ।

पूर्वएमालेभित्रका दुई धार ओली या नेपालमध्ये कोसँग मिल्ने÷नमिल्ने भन्नेमा नेताहरूका आआफ्नै सुझाव थिए । नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ, मातृका यादवलगायतले अहिले चलिरहेको संघर्षलाई निष्कर्षमा पुर्‍याउन पनि उठेका एजेन्डालाई अगाडि बढाएर जानुपर्ने मत राखेका थिए । तर, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मणि थापा, देवेन्द्र पौडेललगायतले पार्टी एकता ओलीसँग भएकाले एकता प्रक्रियालाई टुंगोमा नपुर्‍याउँदासम्म ओलीसँगै मिलेर जानुपर्ने धारणा राखेका थिए ।

वैचारिक राजनीतिक प्रश्न बहसमा आउँदा तत्कालीन एमालेभित्रका नेता एकै केन्द्रमा आउन सक्ने भएकाले माओवादी धारले मुद्दाका आधारमा सहकार्य गरेर जानुपर्ने भन्दै नेताहरूले एकतालाई टुंगोमा पुर्‍याउन ओलीसँग नजिक हुनुपर्ने धारणा राखेका थिए ।

‘तपाईं (अध्यक्ष)ले स्वतन्त्र रूपमा निर्णय गर्ने काम गर्नुहोस्, ओलीले स्वतन्त्र निर्णय गरेको छ भने तपाईंले पनि आफैं स्वतन्त्र निर्णय गरेर जान हामीले सुझाव दिएका छौं’, स्थायी समिति सदस्य मणि थापाले अन्नपूर्णसँग भने,

‘पार्टी एकताको प्राधिकार हस्ताक्षरकर्ता भएकाले पार्टी एकता सम्पन्न गर्नुपर्‍यो पहिले । त्यसपछि अरू विषय आउलान् भन्ने गरी अध्यक्षलाई सुझाव दिएका छौं ।’

मन्त्री रहेका वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेललगायत भने ‘बीच’मा रहेर बोलेका थिए । बैठकमा गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा, जनार्दन शर्मा र लेखराज भट्ट भने अनुपस्थित रहे । भट्ट ओलीतिर ढल्किसकेका आधारमा निम्त्याइएका थिएनन् । थापाले आफू पूर्वनिर्धारित कार्यक्रममा रहेको जनाएका थिए । शर्माले भने ढाडको समस्याका कारण बैठकमा आउन नसकेको जनाए पनि महासचिव विष्णु पौडेल, शंकर पोखरेललगायत नेतासँगको छलफलमा रहेको एक नेताले बताए ।

स्थायी समितिमा पूर्वमाओवादी धारका दाहालसहित १८ नेता छन् । पार्टी एकताका क्रममा भागबन्डामा १९ जना रहे पनि एक जना अग्नि सापकोटा सभामुख भएपछि त्यो स्थान रिक्त छ । नेपालसँग समीकरण गर्न जोड दिने नेताले भने मुद्दा र विधिविधानका विषयमा नेपालसँग सहकार्यमा जोड गर्नुपर्ने बताएका थिए । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।