२ कार्तिक २०८३, सोमबार

सहमति खोज्न दुई अध्यक्ष सघन छलफलमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । नेकपामा देखिएको संकट निवारण गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार सघन छलफल भएको छ । सहमतिको मिलनबिन्दु खोज्न अध्यक्षद्वयबीच बालुवाटारमा तीन घण्टा बढी छलफल भए पनि ठोस निकास भने निस्कन सकेको छैन ।

दुई अध्यक्षबीच सहमति खोज्ने उद्देश्यले सोमबार पुनः छलफल गर्ने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबारको छलफलमा अध्यक्ष ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र अर्का अध्यक्ष प्रचण्डका तर्फबाट स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकार पनि सँगै थिए ।

दुई अध्यक्षबीचको सहमतिबाटै समस्या समाधान हुने भएकाले अध्यक्षद्वयबीचको वार्ता र संवादलाई निरन्तरता दिइने निर्णय भएको नेताहरूले बताएका छन् । सोही निर्णयअनुसार दुई अध्यक्षले सोमबार पनि सघन छलफल गरी सहमतिको वातावरण बनाउने नेताहरूले बताएका छन् । दुई अध्यक्षबीच विगत केही दिनदेखि निरन्तर छलफल हुँदै आइरहेको छ ।

शनिबारको सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षबीच छलफल भएको थियो । सचिवालय बैठकमा मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव ओलीले गरेपछि दाहालले मौन समर्थन गरेका थिए । महाधिवेशनसँगै सबै विवादको समाधान गर्ने सहमति भएको विश्वास गरिए पनि आइतबार दाहालले मंसिरमा महाधिवेशन गर्ने बारेमा आफ्नो समर्थन नरहेको जनाएका छन् ।

अध्यक्षद्वय ओली र दाहालबीच नै सहमति हुन नसक्दा नेकपाको जारी स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ । आइतबार बस्ने भनिएको बैठक अध्यक्षद्वयबीच सहमति नभएका कारण स्थगित भएको थियो । अर्को बैठक मंगलबार बोलाइएको छ ।

अध्यक्ष दाहालले मंसिरमा एकता महाधिवेशन गर्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको प्रस्तावमा आफ्नो समर्थन नरहेको स्पष्टीकरण दिएका छन् । दाहाल निवास खुमलटारमा आइतबार नेकपा सचिवालय र केही स्थायी कमिटी सदस्यहरूलाई ब्रिफिङ गर्दै दाहालले शनिबारको राजनीतिक घटनाक्रमका साथै महाधिवेशन प्रस्तावबारे प्रस्ट पार्दै प्रधानमन्त्री ओलीसँग कुनै सहमतिसमेत नगरेको बताए ।

शनिबार नेकपाको सचिवालय बैठकमा ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावमा दाहालको समेत समर्थन रहेको भन्दै बैठकमै केही नेताले असहमति जनाएका थिए ।

शनिबारको बैठकमा दाहालले ओलीको प्रस्तावमा समर्थन गरे जस्तो गर्दै बैठक सकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएपछि नेपाल, खनाललगायतका नेताहरू अध्यक्षद्वय मिलेको भन्दै सशंकित भएका थिए । आइतबारको खुमलटार बैठकमा सचिवालय सदस्य वामदेव गौतम र रामबहादुर थापा भने अनुपस्थित थिए । सुभाष साहले राजधानी दैनिकमा समाचार लेखेका छन् ।