२ कार्तिक २०८३, सोमबार

महाधिवेशनमा मिल्यो मनमुटाव : कसले के भने ?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । पार्टी नै फुट्ला झैं गरी बढेको नेकपा अध्यक्षद्वयको विवाद अन्ततः मंसिरमा महाधिवेशन गर्ने विषयमा सहमतिमा पुगेको छ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अबको चार महिनामा महाधिवेशन गर्न शनिबार राखेको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहालले समर्थन गरे। यससँगै पछिल्लो मनमुटाव साम्य हुने वातावरण बनेको छ।

दाहालसँग झन्डै दुई घण्टा बालुवाटारमा छलफल गरेपछि दिउँसो ३ बजे बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सुरुमै आफ्नो मन्तव्य राख्दै एकता महाधिवेशनको प्रस्ताव गरेका हुन्। स्थायी समिति बैठक एजेन्डामा प्रवेश नगरी भड्किएको र त्यसमा सबैका कमीकमजोरी रहेको भन्दै प्रधानमन्त्री ओलीले अब ढिलो नगरी पार्टी महाधिवेशन गर्ने प्रस्ताव सचिवालयमा गरेका हुन्।

ओलीले बैठकमा राखेको भनाइ उद्धृत गदै सचिवालयका एक सदस्यले अन्नपूर्णसँग भने, ‘स्थायी समिति एजेन्डामा प्रवेश नगरी भड्किएको थियो। अब भड्काउन दिनु हुँदैन। पार्टीभित्र देखा परेको समस्यालाई छिटोभन्दा छिटो समाधानका लागि महाधिवेशन गरेर जानु नै उपयुक्त हुन्छ। म प्रस्ताव गर्छु पार्टीको महाधिवेशन गरेर जाऔं। गत केन्द्रीय समिति बैठकले चैतमा महाधिवेशन गर्ने कुरा गरेकै थियो, अब किन ढिलो गरिरहने ? छिटो गरेर जाऔं। मंसिरमै महाधिवेशन गरौं।’

प्रधानमन्त्री एवं अध्यक्ष ओलीको त्यस्तो प्रस्तावपछि बोलेका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि ओलीको प्रस्तावमा सहमति जनाएका थिए। दाहालले त्यससँगै उनले आलोपालो प्रधानमन्त्रीको प्रस्तावसमेत छोडेका छन्।

‘मैले प्रधानमन्त्रीसँगको छलफलमा आलोपालो प्रधानमन्त्रीकै विषय उठाएको थिएँ। जुन सम्झौताले समस्या ल्यायो, त्यही सुरुको सहमति कार्यान्वयन गरौं भन्ने मेरो कुरा थियो। अब धेर भयो, हामी अल्झेर, विवाद गरेर बस्नु ठिक हुन्न। म आलोपालो प्रधानमन्त्रीको कुरा छोडिदिन्छु। प्रधानमन्त्रीले छिटो महाधिवेशन गरौं भन्नु भयो। छिटो महाधिवेशन गरेरै जाऔं,’ दाहालले भने।

दुवैका सम्बोधनपछि सचिवालय सदस्यहरूले दुई अध्यक्षबीच सहमति बनेको बुझेका थिए। यससँगै ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदको राजीनामाको विषय टर्ने सम्भावना देखिएको छ।

ओली र दाहालबीच कुनै सहमतिको संकेत पाएपछि दाहालसँग गठबन्धनमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाललगायत अन्य चार जना भने असन्तुष्ट देखिएका छन्। दुई अध्यक्षको सहमति र प्रस्तावलाई वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले भने आशंकाले हेरेका छन्। उनीहरूले ठोस लिखित प्रस्ताव ल्याउन माग गरेका छन्।

महाधिवेशन छिटो गर्ने विषयमा नेताहरूले असहमति नजनाए पनि मंसिरमै महाधिवेशन गर्न कति सम्भव हुने भन्नेमा आशंका गदै कार्यतालिकासहितको ठोस प्रस्ताव ल्याउन आग्रह गरेका थिए। वरिष्ठ नेता नेपालले दुई जना नेता मात्रै बसेर समाधान खोज्दैमा समस्याको समाधान नहुने धारणा राखेका थिए।

यस्तै धारणा नेपालले गत वैशाख २० को सचिवालय बैठकमा पनि राखेका थिए। पार्टीभित्रको समस्या व्यक्तिगत नभई प्रवृत्तिगत समस्या रहेको र आफूले कहिल्यै आफना लागि महत्व दिएर पार्टीमा कुरा नउठाएको भन्दै नेपालले पार्टीलाई विधि र पद्धतिमा चलाऔं भन्ने मात्र आफ्नो प्रश्न रहेको बताएका थिए।

उनले प्रवृत्तिगत समस्या व्यक्तिको चोचोमोचो मिलाउँदैमा समाधान नहुने भन्दै असन्तुष्टिको शैलीमा आफ्ना धारणा राखेका थिए। उनले यस्तो परिस्थितिमा आफूले राष्ट्रव्यापी कार्यकर्ता भेला गरेर बहस चलाउन सक्नेसमेत बताए। ओलीको प्रस्तावमा ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’ लगायतले समर्थन गरेका थिए।

नेकपामा गत माघ १५ देखि १९ सम्म बसेको केन्द्रीय समिति बैठकले २०७७ चैत २५ देखि पार्टीको एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर अब महाधिवेशन मंसिरमै गर्ने गरी दुई अध्यक्षले प्रस्ताव ल्याएपछि नेपालसहितका नेताहरूले भने सदस्यताको अभिलेखसम्म केन्द्रीय कार्यालयमा नभएको, सदस्यता नवीकरण नभएको, केन्द्रीय निकायमै पनि एकता एकीकरण नसकिएको र गाउँ, नगर, जिल्ला, प्रदेश हुँदै केन्द्रीय महाधिवेशन मंसिरमै सम्भव कसरी हुने भन्दै प्रश्न उठाएका थिए।

उनीहरूले महाधिवेशनका लागि वैचारिक राजनीतिक विषय छलफल खुल्ला नगरिएकाले पनि समयमा महाधिवेशन हुनेमा आशंका व्यक्त गरेका थिए। अन्त्यमा आइतबारको स्थायी समिति बैठकमा ठोस प्रस्ताव ल्याउन नेताहरूले अध्यक्षद्वयलाई आग्रह गरेका थिए। राकृष्ण अधिकारीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।