न्युयाेर्क, ३ साउन । न्युयोर्क, म्यानह्याटनको आफ्नो अपार्टमेन्टमा मृत फेला परेका ‘पठाओ’ का सह-संस्थापक फहिम सलेहका निजी सहयोगीलाई शुक्रबार पक्राउ गरिएको छ ।
पक्राउ परेका २१ वर्षीय टिरेसा डेभोन हस्पिललाई फहिमको हत्यासहित अन्य अपराधको अभियोग लगाइन सक्ने अनुसन्धानमा संलग्न दुई जना अधिकारीले बताएका छन् ।
राइड सेयरिङ कम्पनी पठाओका ३३ वर्षीय सह-संस्थापक फहिमको शव मंगलबार उनकै अपार्टमेन्टमा फेला परेको थियो ।
उनको शवको हात, खुट्टा र टाउको काटिएको अवस्थामा थियो । फहिमकी बहिनीले सबभन्दा पहिला शव देखेकी थिइन् ।
उनी अघिल्लो दिनदेखि सम्पर्कविहीन फहिमलाई खोज्दै अपार्टमेन्ट पुगेकी थिइन् । त्यहाँ उनले फहिमको शव वीभत्स रूपले काटिएको अवस्थामा फेला पारिन् ।
शवका केही टुक्रा प्लास्टिकका ठूल्ठूला झोलामा पोका पारेर राखिएका थिए । एउटा विद्युतीय करौंती पनि घटनास्थलमा फेला परेको थियो । हत्याराले फहिमलाई मारेर त्यही करौंतीले शव टुक्राटुक्रा पारेको हुनसक्ने प्रहरीको अनुमान छ ।
अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार शुक्रबार पक्राउ परेका हस्पिलले फहिमको दसौं हजार डलर चोरी गरेको खुलेको छ ।
अनुसन्धानबाट फहिमको हत्या सोमबार नै भइसकेको थाहा भएको छ । हत्याराले उनकै क्रेडिट कार्ड प्रयोग गरेर होम डिपोबाट कार झिकाएका थिए । त्यही कार प्रयोग गरेर उनले घटनास्थल सरसफाइ गर्न केही सामान किने ।
हत्यारा ती सामान लिएर भोलिपल्ट फहिमको अपार्टमेन्ट पुगे र उनको शव टुक्रा पारे । त्यही बेला फहिमकी बहिनी अपार्टमेन्टमा आएको चाल पाएपछि उनी पछाडिको ढोकाबाट फरार भएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया