
काठमाडौँ, २ साउन । त्रिभुवन विश्वविद्यालयले स्थगित भएको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ ।
त्रिविले कोरोना भाइरसको सङ्क्रमणका कारण भएको लकडाउनले स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र गर्ने जानकारी गराएको हो ।
परीक्षा विद्यार्थी उपस्थित भएरै वा अनलाइनद्धारा गराइने जानकारी विश्वविद्यालयले गराएको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत चैत ७ गतेदेखि विश्वविद्यालयले स्थगित गरेको सबै तहको परीक्षा दशैँअघि सञ्चालन गर्नेगरी परीक्षाको कार्यतालिका तयार पारेको जानकारी दिए ।
विश्वविद्यालयले अनलाइन वा विद्यार्थीले परीक्षा केन्द्रमै पुगेर परीक्षा दिनेगरी दुई विधिबाट मात्र परीक्षा गरिने स्पष्ट गरेको छ । सेमेस्टर प्रणालीमा अध्ययन गरेका विद्यार्थीको केही परीक्षा अनलाइन र केही परीक्षा केन्द्रमै पुगेर परीक्षा लिनेगरी सञ्चालन गरिने नियन्त्रक जोशीले जानकारी दिए ।
यसका साथै वार्षिक प्रणालीमा अध्ययनरत विद्यार्थीको परीक्षा अनलाइनमा गर्न समस्या देखिएकाले विद्यार्थी परीक्षा हलमै उपस्थित हुनुपर्ने अवस्था रहेको उनले स्पष्ट पारे ।
यसअघि विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको परीक्षाका लागि अनलाइन, भौतिक उपस्थिति, विद्यार्थीले घरमै लेखेर ल्याउन सकिने लगायतका विकल्प खुला गरेको थियो तर त्रिविले भने अनलाइन या विद्यार्थीको भौतिक उपस्थितिमा मात्रै परीक्षा लिने तयारी गरेको हो ।
त्यसैगरी, स्थगित परीक्षा सकेपछि परीक्षाको तयारीमा रहेका स्नातक तथा स्नातकोत्तर तह तथा सेमेस्टर प्रणालीमा सञ्चालित बाँकी विद्यार्थीको परीक्षा लिइने भएको छ ।
यो परीक्षा दशैँपछि सञ्चालन गरिने जानकारी त्रिविले दिएको छ । विश्वविद्यालयमा अध्ययन गरेका लाखौँ विद्यार्थी यसबाट लाभान्वित हुनेछन् ।
त्रिविले परीक्षाको विवरण तथा तालिका साउन ७ गतेपछि सार्वजनिक गर्ने जनाएको छ ।
परीक्षा नियन्त्रक जोशीले विद्यार्थी उपस्थित भएरै लिइने परीक्षा सबै सुरक्षा अपनाएर तथा सामाजिक दूरी कायम राखेर गरिने जानकारी दिएका छन् ।















प्रतिक्रिया