मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

राखेप सदस्य सचिवका लागि योग्य युवा महर्जन

दैनिक नेपाल २०७७ साउन १ गते ९:१२

काठमाडौं, १ साउन । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका खुलाएको अवसरका लागि शारिरीक सुगठनमा अब्बल रहेका युवा रोशन महर्जनको दरखास्त परेको छ ।

खेलकुदमा २०५० सालदेखि नै सक्रिय ललितपुर महानगरपालिका–१७ का महर्जन आधुनिक विश्वमा हुने खेलकुदसम्बन्धी सूचना र प्रविधिमा पनि जानकार छन् ।

विगत २ दशकदेखि सूचना प्रविधि क्षेत्रमा सक्रिय उनी स्नात्तकोत्तर अध्ययन गरेका उम्मेदवार हुन् । सानैदेखि मार्शल आर्ट (सितेरियो) खेलेका महर्जनले रोजेको खेलकुदको क्षेत्र शारीरिक सुगठन हो ।

‘खेलकुदका क्षेत्रमा शारिरीक सुगठन र मार्सल आर्टमा नै ध्यान गयो, बाँकी खेलहरूमा पनि उस्तै लगाव छ’, महर्जन भन्छन् ।

२०४८ सालदेखि आफ्नै टोल लुँखुसीको स्वाधीन वाचनालयमा फलाम उचाल्न थालेका उनले २०५० सालदेखि पाटनकै पहिलो जिम क्लब नाईन प्वाईन्ट हेल्थ क्लबमा औपचारिक रुपबाट व्यायाम शुरु गरेका थिए ।

बिगत १० वर्षदेखि नेपालकै सबै भन्दा पुरानो खेल संस्था नेपाल व्यायाम मन्दिरको कार्यसमितिको सदस्य समेत रही खेल र खेलाडीको लागि उन्नयनमा सक्रिय छन् ।

वि.सं. २०७० सालमा शारीरिक सुगठन तथा फिटनेसको राष्ट्रिय स्तरको निर्णायकको लाईसेन्स प्राप्त गरेका महर्जनले नेपालमा खेलकुद र खेलाडीहरुको विकासको लागि धेरै पहिलादेखि नै अवधारणा बनाउन थालेको बताए ।

निर्णायकको लाईसेन्स प्राप्त गरिसकेपछी थुप्रै राष्ट्रिय स्तरका प्रतियोगिताका साथै वि.सं.२०७५ मा पुनर्गठित इन्टरनेशनल फेडेरेशन अफ बडीविल्डिङ (आईएफबीबी) अन्तर्गतको नेप्लिज फेडेरेसन अफ शारीरिक बडीबिल्डिङ एण्ड फिटनेस (एनएफबीएफ)ले आयोजना गरेको दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा निर्णायकको भूमिका महर्जनले निभाएका छन् ।

महर्जन दक्षिण एशियाली शारीरिक सुगठन संघको निर्णायक कमिटिको अध्यक्ष रहीसकेका छन् । उक्त प्रतियोगितामा नेपालका खेलाडी उमेश राईले प्रथम स्थान हासिल गरेका थिए भने बंगलादेशका खेलाडीले दोश्रो स्थान हासिल गरेका थिए ।

‘खेलकुद अब राष्ट्रको प्रतिष्ठाको विषय मात्र नबनेर आम नेपाली नागरिकहरुको स्वास्थ्य र बिकासको चाहना पुरा गर्ने शसक्त माध्यमको रुपमा देखा परेको छ’, उनी भन्छन्,‘राष्ट्रको सबै विकासको पूर्वाधारको रुपमा अति आवश्यक छ । शारीरिक, मानसिक, बौद्धिक एवं नैतिक क्षमतावान जनशक्ति निर्माण गर्नुका साथै अनुशासित, देशभक्त नागरिकको निर्माण गर्ने कार्य पनि खेलकुदले गर्दछ ।’

प्रतिक्रिया
सम्बन्धित