५ कार्तिक २०८३, बिहिबार

सोती घटना : फरार ५ जना अभियुक्त कारागार चलान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

रुकुमपश्चिम, ३१ असार । सोती घटनाका फरार पाँच अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

रुकुम जिल्ला अदालतले आज उनीहरुलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेको हो। अदालतमा भएको अभियुक्तको बयान तथा वादी र प्रतिवादी वकिलको थुनछेक बहसपछि उनीहरुलाई पुर्पक्षका लागि पठाउने आदेश भएको निमित्त श्रेस्तेदार लक्ष्मण विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौरजहारी नगरपालिका–८ का तुलराम घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन र डिल्ली घर्ती मङ्गलबार अदालतमा उपस्थित भएका थिए ।

पाँचमध्ये भीमबहादुर घर्तीलाई भने असार २८ गते जिल्ला अदालतमा आफैँ हाजिर भएपछि बयान र बहसपछि पुर्पक्षका लागि सोही दिन कारागार चलान गरिएको थियो।

यी पाँच जनासहित सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३४ जनामध्ये ३० जनालाई पुर्पक्षका लागि थुनुवामा राख्ने आदेश भएको छ ।

तिनमा दुई नाबालक रहेको र उनीहरुलाई बालसुधारगृहमा पठाइएको छ। तीन जना साधारण तारेखमा छुटेका थिए भने एक जना रु एक लाख धरौटीमा छुटेका थिए।

गत जेठ १० गते भएको सोती घटनामा जाजरकोट भेरी नगरपालिकाका पाँच र रुकुम(पश्चिम) चौरजहारी नगरपालिकाका एक गरी ६ जनाको ज्यान गएको थियो । –रासस