२ कार्तिक २०८३, सोमबार

कोभिड १९ को पहिलो भ्याक्सिनले अमेरिकामा पायो ठूलो सफलता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ असार । अमेरिकामा बनेको कोभिड १९ को भ्याक्सिनले मानिसको प्रतिरक्षा प्रणाली बढाउने वैज्ञानिकहरुले बताएका छन् ।

भ्याक्सिनको परीक्षण गर्दा सोचेअनुसारकै प्रतिरक्षा प्रणाली विकास गर्ने आशा पलाएको उनीहरुले बताएका हुन् ।

न्युयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार अब यो भ्याक्सिनको महत्वपूर्ण ट्रायल गर्नुपर्नेछ । अमेरिकाका शीर्ष विशेषज्ञ डा. एन्थोनी फाउचीले समाचार एजेन्सी एसोसिएटेड प्रेससँग भने, ‘यसलाई जतिसुकै काँटछाँट गरेर हेरेपनि यो राम्रो खबर हो ।’

नेशनल इन्स्टिट्युट्स अफ हेल्थ र मोडेरना इंकमा डा. फाउचीका सहकर्मीले यो भ्याक्सिन विकसित गरेका हुन् ।

अब २७ जुलाई देखि यो भ्याक्सिनको सबैभन्दा महत्वपूर्ण परीक्षण सुरु हुनेछ । ३० हजार व्यक्तिमा यसको परीक्षण गरिनेछ र यो भ्याक्सिनले साँच्चै नै कोभिड–१९ बाट मानव शरीरलाई बचाउन सक्ला त भनेर पत्ता लगाउने कोसिस गरिनेछ ।

मंगलबार अनुसन्धानकर्ताले ४५ व्यक्तिमा गरिएको परीक्षणको नतिजा जारी गरेका छन् । यसको व्यग्रताका साथ प्रतिक्षा गरिँदै थियो ।

यी व्यक्तिको शरीरमा न्यूट्रालाइजिङ एन्टी बडी विकसित भएको छ । यो एन्टीबडी संक्रमण रोक्नका लागि महत्वपूर्ण हुन्छन् ।

अनुसन्धान टोलीले न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनमा भ्याक्सिन दिइएका व्यक्तिहरुको रगतमा त्यति नै एन्टीबडी पाएको छ जति कोभिड–१९ बाट निको भएका बिरामीको शरीरमा पाइएको छ ।

अनुसन्धानको नेतृत्व गर्ने सिएटलको केसर परमानेन्ट वासिङ्टन रिसर्च इन्स्टिच्युटसँग जोडिएकी डा. लीसा ज्याकसन भन्छिन्, ‘परीक्षणमा अघि बढ्न र भ्याक्सिनले साँच्चै नै संक्रमणबाट जोगाउँछ भनेर पत्ता लगाउनका लागि यो आवश्यक बिल्डिङ ब्लक हो ।’

अन्तिम नतिजा कहिले पाइन्छ त्यसको कुनै ग्यारेन्टी छैन तर सरकारले वर्षको अन्तिमसम्म ट्रायल पूरा हुने आशा राखेको छ ।

यो भ्याक्सिनको दुईवटा खोप दिइनेछ जसको बीच एक महिनाको अन्तर हुनेछ । यो भ्याक्सिनको कुनै गम्भीर साइड इफेक्ट छैन ।

तर अनुसन्धानमा संलग्न आधाभन्दा बढी मानिसहरुले फ्लूजस्तो रियाक्सन दर्ता गरेका छन् । जुन असामान्य कुरा होइन ।

खोपपछि टाउको दुखाई, चिसो महसुस गर्नु, ज्वरो आउनु वा खोप हालेको स्थानमा पीडा हुनु साधारण कुरा हो । जुन तीन सहभागीलाई धेरै डोज दिइएको थियो उनीहरुमा रियाक्सन अत्यधिक गम्भीर थियो ।

केही रियाक्सन कोरोनाभाइरस संक्रमणको लक्षण जस्तै छ, तर त्यो अस्थायी छ । यो एक दिनसम्म रहन्छ र खोप लगाउने बित्तिकै देख्न सुरु हुन्छ ।

वांडरबिल्ट युनिभर्सिटी मेडिकल सेन्टरसँग जोडिएका अनुसन्धानकर्ता डा. विलियम शाफनरका अनुसार यो कोरोनाजस्तो महामारीबाट सुरक्षाका लागि सानो मूल्य हो । डा. शाफनर यो अनुसन्धानसँग सम्बन्धित छैनन् ।

उनले भ्याक्सिनको सुरुवाती नतिजालाई राम्रो कदम बताएका छन् । उनले औषधीको अन्तिम ट्रायलबाट यो सुरक्षित र प्रभावकारी छ–छैन भने पत्ता लाग्ने आशा राखेका छन् । यसको नतिजा अर्को वर्षको सुरुवातसम्म पाइने आशा गरिएको छ ।

शाफनर भने, ‘यो निकै शानदार कुरा हो, सबै कुराको आफ्नै समय हुन्छ । मंगलबार सुरुवाती नतिजा आएपछि अमेरिकी सेयर बजारमा मोडेरना इंकको शेयरको मूल्य १५ प्रतिशतसम्म बढ्यो ।

अमेरिकाको म्यासाचुसेट्सको क्याम्ब्रिजस्थित यो कम्पनीको सेयर यो वर्ष चार गुणासम्म बढेको छ । मंगलबार जुन अनुसन्धानको नतिजा सार्वजनिक गरिएको छ त्यसमा युवामात्रै समावेश थिए । अबको परीक्षणमा वृद्ध पनि समावेश गरिँदैछ । कोभिड–१९ महामारीले सबैभन्दा धेरै ज्येष्ठ नागरिकलाई प्रभावित पारेको छ ।

समाचार एजेन्सी असोसिएटेड प्रेसका अनुसार अनुसन्धानको नतिजा अहिले सार्वजनिक भएको छैन र नियामकले त्यसको विश्लेषण गरिरहेको छ ।

फाउचीले अन्तिम परीक्षणमा ज्येष्ठ नागरिकलाई पनि समावेश गर्ने जानकारी दिएका छन् । यसबाहेक गम्भीर रोगबाट पीडित व्यक्तिमा पनि परीक्षण गरिनेछ । यो भाइरसले सबैभन्दा धेरै असर ती व्यक्तिलाई पारेको छ जो पहिलेदेखि कुनै न कुनै रोगबाट पीडित थिए ।

यतिमात्रै होइन, अमेरिकामा अश्वेत र ल्याटिन मूलका मानिसहरु पनि यो संक्रमणबाट सबैभन्दा धेरै प्रभावित भएका छन् । संसारभरी करिब दुई दर्जन भ्याक्सिन आफ्नो ट्रायलको अन्तिम चरणमा छन् । चीन र बेलायतको अक्सफोर्ड युनिभर्सिटीको भ्याक्सिन पनि चाँडै नै परीक्षणको अन्ति चरणमा आउनेछन् ।

तीस हजार व्यक्तिमाथि हुन लागेको यो भ्याक्सिनको शोध अहिलेसम्म कोरोनाको सम्भावित भ्याक्सिनको सबैभन्दा ठूलो शोध हुनेछ । –एजेन्सी