५ कार्तिक २०८३, बिहिबार

गाउँपालिका अध्यक्ष र कर्मचारीमाथि हातपात गर्ने १३ जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३१ असार । ओखलढुङ्गाको लिखु गाउँपालिकाका अध्यक्ष तथा कर्मचारीमाथि हातपात गरेको अभियोगमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।

लिखु गाउँपालिकाका वडा नं. ४ का अध्यक्ष गोविन्दबहादुर पौडेल तथा कर्मचारीमाथि हातपात गरेको आरोपमा एक महिलासहित १३ जनालाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा ३१ वर्षीय दीपक कार्की, ३२ वर्षीय भारती मगर खत्री, २२ वर्षीया निर्मला थापा, २२ वर्षीय दीपक थापा, २२ वर्षीय दिपेन्द्र खड्का र २० वर्षीय विश्वास खत्री छन् ।

त्यस्तै २७ वर्षीय पारस खड्का, २७ वर्षीय अरूण कार्की, २३ वर्षीय विशाल भन्ने दलबहादुर थापा, २७ वर्षीय हरिचन्द्र भन्ने निल बहादुर कार्की, २० वर्षीय राजु कार्की, २४ वर्षीय लक्षमण कार्की र २१ वर्षीय दिप राज खड्का छन् ।

प्रहरीका अनुसार उनीहरुले यही असार १२ र १३ गते कार्यालयमा गई अध्यक्ष पौडेल र कर्मचारीमाथि कुटपिट गरी, कार्यालयका कुर्सी समेत भाँचेका थिए ।

असार ११ गते एम्बुलेन्स चालक सुर्दशन खत्रीको सवारी दुर्घटनामा मृत्यु भएको थियो । उनको भीरबाट खसेर मृत्यु भएको थियो ।

चालकको मृत्यु भएपछि क्षतिपूर्ती माग गर्दै उनीहरु कार्यालय पुगेका थिए । प्रहरीका अनुसार कुरा नमिलेपछि उनीहरूले गाउँपालिका अध्यक्षलगायत अन्य कर्मचारीमाथि हातपात गरे र कुर्ची झ्यालसमेत फुटाएका हुन् ।

उनीहरूमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएको छ । जिल्ला अदालतले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिसकेको छ ।