बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

खेलाँचीमै बगाउला खोलाले

दैनिक नेपाल २०७७ असार ३१ गते ७:०७

विराटनगर, ३१ असार । मोरङको रतुवामाई–७ डाँगी टोलका २४ वर्षीय अरुण ऋषिदेव आइतबार प्रेमिका भेट्न भन्दै मामा वासु ऋषिदेवलाई लिएर झापाको गौरीगन्जतर्फ हिँडे। घुमेर जाँदा गन्तव्यमा पुग्न धेरै समय लाग्ने भएपछि अरुण र वासुले रतुवा खोला तरेर जाने निधो गरे।

वासुले पौडिएर खोला पार गरे तर अरुणलाई बाढीले निल्यो। उनलाई अझै फेला पार्न सकिएको छैन। मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जोखिम मोलेर लापरवाहीपूर्ण तरिकाले खोला तर्न खोज्दा घटना भएको बताए।

मोरङकै सुन्दरहरैंचा–१ का २ वर्षीय आकाश राईले असार १ गते माछा पोखरीमा डुबेर ज्यान गुमाए। नुहाउन भनेर साथीहरूसँग पोखरीमा पस्दा उनी डुबेका थिए। एसपी खड्काले भने, ‘बर्खाको बेला पानीको सतह बढेको पोखरीमा जानाजान पस्दा डुबेर अकालमा ज्यान गयो।’

सुनसरीको बराहक्षेत्र–६ का १३ वर्षीय अनिल बस्नेतको आइतबार सप्तकोसी नदीले बगाएर मृत्यु भयो। बाढीले बगाएर ल्याएको दाउरा झिक्न पस्दा उनलाई नदीले बगायो। दाउराको लोभमा पर्दा उनको अल्पायुमै मृत्यु भयो। लापरवाहीपूर्वक दाउरा संकलन गर्नु पनि मृत्युको एक मुख्य कारक रहेको प्रहरीको निष्कर्ष छ। प्रहरीले यस घटनालाई बालकभन्दा पनि अभिभावकको बेवास्ताका रूपमा लिएको जिल्ला प्रहरी सुनसरीका प्रवक्ता डीएसपी विनोद शर्माले बताए।

सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित सर्दु खोला तर्ने क्रममा ५५ वर्षीय रामबहादुर बस्नेतको शनिबार मृत्यु भयो। खोलाले बगाएर बेपत्ता बनाएका उनको शव घटनास्थलभन्दा लगभग ५ किलोमिटर तल आइतबार भेटियो। लापरवाही ढंगले खोला तर्न खोज्दा ज्यानै गयो। ‘थोरै भए पनि घुमेर गएको भए गन्तव्यमा पुग्थे’, जिल्ला प्रहरी प्रवक्ता शर्माले भने, ‘बाढीले ज्यानै लग्यो।’

झापाको झापा–५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर शनिबार मृत्यु भयो। मलामी गएका उनी पौडी खेल्ने क्रममा खोलामा बेपत्ता भएका थिए। पाँच घण्टापछि तीन किलोमिटर तल उनको शव फेला पर्‍यो। ‘मलामी गएका व्यक्ति काम सकेर घर फर्कनुपर्ने हो। बर्खे खोलामा पौडी खेल्नुपर्ने आवश्यकतै थिएन’, झापा प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले भने।

झापाको भद्रपुर–३ स्थित मेची खोलामा नुहाउने क्रममा हिरण राईलाई खोलाले बगाएर बेपत्ता बनायो। उनको शव भेटिएको छैन।

यी घटना भीषण वर्षा, बाढीपहिरो र डुबानका समयमा प्रदेश १ मा भएका केही मानवीय क्षतिसँग जोडिएका उदाहरण हुन्। यस समयमा मानवीय क्षति भएका घटनासँगै लापरवाही पनि जोडिने गरेको निष्कर्ष प्रहरीले निकालेको छ। ‘बाढीपहिरोमा परेर मृत्यु र बेपत्ता भएको घटनासँगै लापरवाहीबाट जानाजान ज्यान गएका धेरै घटना भइरहेका छन्’, प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलले भने।

प्रदेश १ मा गत चैतयता मात्रै पानीमा डुबेर, खोलाले बगाएर र बाढीपहिरोमा परेर ५४ जनाको मृत्यु भइसकेको तथ्यांक प्रदेश प्र्रहरी कार्यालयसँग छ। असारयता मृत्यु हुनेको संख्या धेरै छ। बाढीपहिरोमा परेर तथा खोलाले बगाएर १६ जना बेपत्ता छन्। केही दिनयता प्रदेश १ मा बाढीपहिरो र डुबानको समस्या बढेको छ। मृतकमध्ये ४ प्रतिशतले मात्र प्राकृतिक प्रकोपबाट र ६ प्रतिशतले आफ्नै लापरवाहीले ज्यान गुमाएको प्रहरीको विश्लेषण छ। किशाेर बुढाथाेकीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित