शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कसरी फुट्यो मेलम्चीको मुख्य गेट ?

दैनिक नेपाल २०७७ असार ३१ गते ७:०३

काठमाडौं, ३१ असार । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी राजधानी नआउँदै मुख्य सुरुङ (२६ किमि) मार्गभित्रको गेट मंगलबार एक्कासि फुट्दा इन्जिनियर र एक चालक बगेर बेपत्ता भएका छन् । साइट इन्जिनियरसहित दुई गम्भीर घाइते छन् । हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहानस्थलको मुख्य सुरुङको गेट नम्बर १७ फुटाएर बीचमा जोडिएको अम्बाथान अडिटबाट निस्किएको पानीले बाढीको रूप लिँदा घटना भएको हो ।

आयोजनाका प्राविधिकका अनुसार मुख्य सुरुङबाट गेट फुटेर फर्किएको पानी बीचको गेट बल्बसमेत टुटाएर मुख्य सुरुङसँगै बीचमा जोडिने सहायक अडिटबाट निस्किएको थियो ।

गेट नम्बर १७ र गेट बल्बमा समस्या देखिएपछि दुई इन्जिनियरसहित हेल्पर र प्राविधिक सुरुङभित्र बुझ्न जाँदै थिए । ‘त्यही क्रममा उनीहरूलाई बीचैबाट बगायो, गेट नम्बर १७ मा सुरुदेखि नै समस्या थियो,’ एक प्राविधिकले भने । उनका अनुसार आयोजनाको ग्याल्थुम, सिन्धुदेखि अम्बाथानसम्म ३ वटा अडिट मार्ग पानी र बालुवा थिग्य्राएर फाल्नका लागि बनाइएका छन् । ‘मान्छे र सवारी छिर्ने सुरुङबाट एक्कासि बाढी आउनुका साथै बीचमा अडिटसँग जोडिएको गेट बल्बको नट वा गेट कुनै कारणले खुस्किएको हुन सक्छ,’ ती प्राविधिकले भने । अचेल आयोजनामा ‘रिभिनिङ पार्ट’ र गेट नम्बर १७ लाई पूर्वतयारी राख्नेदेखि अन्य संरचनालगायतका काम हुँदै आएको थियो । मुख्य टनेललाई ‘फिलिङ’ गर्दै लगेर अन्य काम अगाडि बढाइएको थियो । सुन्दरीजलसम्म पानी लैजानका लागि महत्त्वपूर्ण मानिने मुख्य सुरुङको मेन गेट (गेट नम्बर १७) लाई बलियोसँग लगाउनका लागि ३ साता लाग्ने आयोजनाले जानकारी दिएको थियो ।

साताअघि मुख्य सुरुङको गेट नम्बर १७ सम्म पानी पुर्‍याएपछि मुहानस्थलमा कर्मचारी उत्साहसाथ खटिरहेका थिए । मंगलबार दिउँसो करिब १२ बजेतिर सुरुङबाट ‘ड्याम्म’ आवाज आयो । त्यतिखेर सुन्दरीजल जोड्ने सुरुङमार्गको ‘जिरो जेनेज’ देखि ८ सय मिटरसम्म पानी भर्खरै पठाइएको थियो । मुख्य अडिट गेटसम्म पठाइएको सबै पानी एक्कासि फर्किएपछि सबैतिर खैलाबैला मच्चिन थाल्यो । सुरुङभित्र निरीक्षण गर्न गएको टोली चढेको रातो रङको बा१झ १७६४ नम्बरको स्कारपियो बग्यो । बाढीमा परेका साइट इन्जिनियर शेखर खनाल र सबहेल्पर पेम्बा लामालाई घाइते अवस्थामा उद्धार गरियो । सुरक्षाकर्मी र स्थानीयले इन्जिनियर खनाल र सबहेल्पर लामालाई बग्दाबग्दै उद्धार गरेका थिए । प्राथमिक उपचारपछि उनीहरूलाई श्री एयरलाइन्सको हेलिकप्टरबाट थप उपचारार्थ काठमाडौं लगियो । बगेर बेपत्ता हुनेमा आयोजनाका इन्जिनियर सतिश गोहित र सवारी चालक राधाकृष्ण थापा मगर छन् ।

सुरुङस्थलभित्रको सम्पूर्ण संरचनादेखि ‘अडिट गेट’ अर्थात् गेट नम्बर १७ सुरक्षित भनिए पनि कसरी फुट्यो भन्नेबारे कारण फेला पार्न नसकेको आयोजनाका इन्जिनियर शिवकुमार शर्माले बताए । ‘अहिले मुख्य सुरुङभित्रको संरचना पूरै क्षतविक्षत हुन पुगेकाले हामी कोही जान सक्ने अवस्थामा छैनौं, फिल्डमा नपुगी कसरी घटना भयो, के आधारमा भन्न सक्छौं र ?’ उनले कान्तिपुरसँग भने । जाँचबुझका लागि मन्त्रालयले प्राविधिक टोली गठन गरेकाले छिट्टै ‘प्राविधिक तथ्य’ खुल्ने आशा उनले व्यक्त गरे ।

आयोजना प्रमुख त्रिरेशप्रसाद खत्रीसँग बुझ्न खोज्दा उनको ९८५११२६२४५ नम्बर अफ थियो । आयोजनास्थलमा कार्यरत केही प्राविधिकको अनुमानअनुसार गेट नम्बर १७ मा आवश्यकभन्दा बढी चाप हुने गरी पानी पठाइएकाले बालुवा थिग्य्राउने गेट फुटेर सुरुङतर्फ नै पानी फर्किएको हो । सुरुङभित्रको गेटसम्म पुगेर वेगसँग फर्किएको बाढीले ‘मुख्य अडिट गेट’ देखि ‘हेडवर्क्स’ स्थललगायत वरिपरिको अधिकांश संरचना ध्वस्त बनाएको छ । ‘घण्टैपिच्छे पानीको प्रेसर मापन गर्न गइरहन्थ्यौं, यस्तो घटना होलाजस्तो कुनै संकेत थिएन, अन्य प्राविधिक कुरा हामीलाई थाहा भएन,’ आयोजनामा कार्यरत कामदार कृष्ण तामाङले भने । अनिश तिवारीले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित