बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

जाडोयाममा कोरोनाभाइरस झन खतरनाक हुने वैज्ञानिकको चेतावनी

दैनिक नेपाल २०७७ असार ३० गते १३:१४


लन्डन, ३० असार । वैज्ञानिकहरुले जाडोयाममा नोभेल कोरोना भाइरस पहिलोभन्दा झन खतरानाक हुनसक्ने चेतावनी दिएका छन् ।

वैज्ञानिकहरुले गरेको पूर्वानुमान अनुसार आगामी जाडोयाममा कोरोनाभाइरस महामारीबाट थप १ लाख २० हजार मानिसको ज्यान जान सक्ने चेतावनी दिएका छन् ।

वस्तुपरक प्रक्षेपण गरी हेर्दा उनीहरूले करिब २५ हजारदेखि अढाइ लाखसम्मको अस्पतालमा मृत्यु हुनसक्ने अनुमान गरेका छन् । त्यस समयमा कोरोना महामारी जनवरीदेखि फेब्रुअरीसम्म पिकमा पुग्ने प्रक्षेपण गरेका छन् ।

तर, वैज्ञानिकहरूले गरेको अनुमानमा लकडाउनको प्रभाव र उपचार तथा खोपको उपलब्धताबारे हिसाब गरिएको छैन । यसलाई हेर्दा उनीहरुले तत्काल कदमहरू चालिएमा जोखिम घट्न सक्नेसमेत जनाएका छन् ।

बेलायतका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालान्सको आग्रहमा तयार पारिएको प्रतिवेदनमा जाडोयाममा कोरोना भाइरसले कस्तो व्यवहार देखाउला भन्ने विषयमा अझै धेरै अनिश्चितता रहेकोसमेत जनाइएको छ ।

जाडोयाममा अन्य मौसमी रुघाखोकीको पनि प्रकोप हुनसक्ने र अहिले महामारीका कारण उपचार हुन नपाएका कैयौं मामिलाको पनि बाँकी रहेका बोझ हुने हुनाले स्वास्थ्य सेवामा अधिक भार पर्नसक्नेप्रति पनि चिन्ता व्यक्त गरिएको छ ।

सो प्रतिवेदनका अनुसार अहिले नै महामारीको पहिलो लहरका कारण अन्य बिमारीका उपचार पाउन प्रतीक्षारतहरूको सूची लामो भइसकेको छ र यो वर्षको अन्त्यसम्म त्यो एक करोडजति पुग्न सक्ने जनाइएको छ ।

बेलायतमा हालसम्म ४४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । – बीबीसी

प्रतिक्रिया
सम्बन्धित