बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

भारतकाे राजस्थानमा कांग्रेस सरकार संकटमा

दैनिक नेपाल २०७७ असार २९ गते ८:५७

नयाँदिल्ली, २९ असार । भारतको राजस्थानमा सत्ताधारी पार्टी कांग्रेसमा राजनीतिक संकट गहिरिँदै जाँदा सरकार संकटमा परेको छ ।

शनिबार प्रदेशका मुख्यमन्त्री अशोक गहलोतले भारतीय जनता पार्टी (बिजेपी) माथि सरकार ढलाउन लागि परेको आरोप लगाएका थिए ।

कोरोना भाइरसको महामारीसँग लड्न सरकारको ध्यान केन्द्रित रहेका बेला भाजपा भने सरकार अस्थिर बनाउन लागि परेको आरोप उनले लगाएका थिए । भाजपाले विधायकहरुको किनबेचको प्रयास गरेको आरोप गहलोतको थियो ।

त्यसबारे अनुसन्धानका लागि स्पेशल अपरेशन ग्रुप (एसओजी) जाँच गरिएको थियो । प्रहरीको एसओजीले मुख्यमन्त्री गहलोत, उपमुख्यमन्त्री सचिन पायलट र सरकारका मुख्य सचेतक महेश जोशीलाई सोधपुछका लागि बोलाएको थियो ।

सो घटनापछि अहिले राजस्थानमा कांग्रेसको सरकार अशोक गहलोत भर्सेज सचिन पायलटका रुपमा अघि आएको छ । यसअघि मध्य प्रदेशमा कमलनाथ भर्सेज ज्योतिरादित्य सिन्धिया भएको थियो र त्यहाँ कांग्रेसले सत्ता गुमाउनु परेको थियो ।

समाचार संस्था पिटिआईका अनुसार सचिन पायलट सोमबार हुने कांग्रेस विधायक दलको बैठकमा सहभागी हुने छैनन् । सचिनले आफूसँग कांग्रेसका ३० विधायकको समर्थन रहेको र अशोक गहलोतको सरकार अल्पमतमा परेको बताएका छन् ।

सचिन अहिले दिल्लीमा छन् र राजस्थानमा कांग्रेस विधायक दलको बैठक हुनेछ । विधायक दलको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने सम्भावना रहेकाे भारतीय सञ्चारमाध्यमले बताएका छन् । अशोक गहलोतको समर्थनमा १०९ विधायक रहेको कांग्रेसको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित