२ कार्तिक २०८३, सोमबार

विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति नबनाउन सुझाव

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । नेपालका अधिकांश विश्वविद्यालयमा प्रधानमन्त्री नै कुलपति रहने व्यवस्था छ । तर, प्रस्तावित योगमाया विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति बनाउने प्रावधान हटाउन सांसद र विज्ञले संसदीय समितिलाई सुझाव दिएका छन् ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकमाथि अहिले सैद्धान्तिक छलफल चलिरहेको छ । आइतबार विधेयकमाथिको छलफलमा विज्ञ तथा सांसदहरूले प्रधानमन्त्री विश्वविद्यालयको कुलपति बन्न नसक्ने प्रावधानसहित कानुन बनाउनुपर्ने विषय उठाएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्रस्तावित विधेयकमा योगमाया आयुर्वेद विश्वविद्यालय प्रधानमन्त्रीलाई नै कुलपति बनाउने प्रावधान राखिएको छ । प्रस्तावित विधेयकको दफा–१९ मा प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने, उक्त कुलपति विश्वविद्यालयको प्रमुख र सभाको अध्यक्ष हुने प्रावधान छ ।

तर, समितिमा आमन्त्रित विज्ञले भने प्रधानमन्त्रीलाई कुलपति बनाउने व्यवस्था हटाउन सुझाव दिए । खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माले कुनै पनि विश्वविद्यालयलाई राज्यले आर्थिक र प्रशासनिक स्वायत्तता दिनुपर्ने बताए ।

‘मिनिस्ट्री र युनिभर्सिटीको बीच एउटा कन्ट्र्याक्ट नै होस् न, युनिभर्सिटीको नेतृत्वले त्यो कन्ट्र्याक्टबमोजिम काम गर्न सकेन भने त्यसलाई बिदा गरियोस्’, शर्माले भने,‘प्रधानमन्त्री चान्सलर हुँदा ठूलो फरक त पर्ने होइन तर हेडअफ स्टेट त्यहाँ बस्दा बिनाकारण दोष लिनुपर्ने बाध्यता हुन्छ, मन्त्री, प्रधानमन्त्री चान्सलर भएर युनिभर्सिटीले राम्रो काम गर्न सकेन भने को जिम्मेवार ? त्यसैले मिनिस्टर, प्राइम मिनिस्टर चान्सलर बन्ने कुरा म सिफारिस गर्दिनँ ।’

सांसद प्रकाश पन्थले प्रधानमन्त्रीलाई विश्वविद्यालय प्रमुख बनाउने प्रावधान हटाउनुपर्ने बताए । ‘प्रधानमन्त्रीलाई ६० भन्दा बढी निकायको प्रमुख बनाउँदा सबै ठाउँमा ध्यान हुँदैन, विश्वविद्यालयमा पनि उपकुलपति बनाउँदा सबै ठाउँमा नजर पुग्दैन’, उनले भने, ‘यसरी सबै ठाउँमा ध्यान नपुग्दा त्यहाँका समस्या सामधान नहुन सक्छन् ।’

सांसद विमला राई पौड्यालले प्रधानमन्त्री कुलपति नरहँदा विश्वविद्यालय राम्रो हुन्छ भने समितिले राम्रो कुरा नै अवलम्बन गर्नुपर्ने बताइन् । त्यस्तै सांसद प्रमिला कुमारीले प्रधानमन्त्री, मन्त्री र सचिवलाई सिनेटमा राखेर कुनै पनि विश्वविद्यालयले प्रगति गर्न नसकेको र अब विज्ञको सुझावअनुसार नै विधेयक तयार हुनुपर्ने बताइन् । आकाश क्षेत्रीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।