
काठमाडौं, २८ असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनको माडीका बाढी पीडितको दैलो–दैलोमा पुगेका छन् ।
शनिबार चितवन गएका प्रचण्ड दिनभरी निर्वाचन क्षेत्रका पीडित जनताको घरदैलो र पार्टीले गरेको कार्यकर्ता भेलाको कार्यक्रममा उपस्थित भए ।
प्रचण्डले माडीमा रिउ खोलाको बाढीमा परेका पीडित परिवारलाई भेट गरेका थिए । हिलाम्य रहेको आफ्नो क्षेत्रको निरिक्षण गरेपछि प्रचण्डले विकासका लागि सम्बन्धित कामको बारेमा जानकारी गराउँदै विभिन्न निकायले निर्देशन पनि दिएका छन् ।
प्रचण्डले रिउको बाढीमा परी बेपत्ता भएका माडी–५, धोबाहाका रामसिंह मर्दनिया र खोलाले बगाएर मृत्यु भएका माडी–८, खरकट्टाका पूर्वसिंह तामाङका परिवार एवम् आफन्तहरुसँग घरमा नै पुगेर भेटघाट गरेका थिए ।
भेटका क्रममा प्रचण्डले बेपत्ता मर्दनियाको खोजी गर्न तथा दुवै जनाको परिवारलाई राहत उपलब्ध गराउन स्थानीय प्रशासन र स्थानीय तहलाई तत्कालै निर्देशन दिए ।

यसैबीच, चितवनको भरतपुरमा भएको कार्यकर्ता भेलालाई प्रचण्डले आधा घन्टासम्म सम्बोधन गरेका थिए । नेकपाभित्र देखिएको विवादलाई संकेत गर्दै पार्टीभित्र कोही महान् राष्ट्रवादी र कोही लम्पसारवादी नभएको स्पष्ट पारे ।
पार्टीलाई कुनै पनि हालतमा विभाजन हुन नदिने बताएका उनले नेपालको नक्शा जारी गर्नुपर्ने निर्देशन आफूले नै दिएको दाबी गरेका छन् ।
गएको ४ मंसिरमा प्रचण्डलाई कार्यकारी अध्यक्षसहित पार्टी सञ्चालनका लागि दिइएको जिम्माको स्मरण गरेका उनले थपे,‘ पहिलो स्थायी समितिको बैठक मंसिरको अन्तिममा भयो । त्यसबेला भारतले नक्सा प्रकाशित गरेको थियो । मैले स्थायी समतिको बैठकमा हामीले पनि तुरुन्तै नक्सा प्रकाशित गर्नैपर्छ, हाम्रो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा हामीले पनि तुरुन्तै प्रकाशित गर्नुपर्छ भनेर स्थायी कमिटीबाट सर्वसम्मत निर्णय गराएको थिएँ । त्यसलाई लम्पसारवाद भन्ने ? त्यो हो, लम्पसारवाद ?’

माघमा भएको केन्द्रीय समितिमा पनि सोही विषयलाई अनुमोदन गराएको स्मरण गरेका प्रचण्डले जोडे,‘यो पार्टीलाई एकतावद्ध गर्नका लागि सच्चाइ के हो भने एउटा कम्युनिस्ट स्पिरिटमा बुझ्नुपर्दछ । नेताहरुलाई सावधान रहन खबरदारी गर्नुपर्छ ।’
नेपालमा कम्युनिस्ट केन्द्रका निम्ति सक्रिय रहेका प्रचण्डले हाल देखिएको नेकपाभित्रको समस्यालाई सांकेतिक रुपमा व्याख्या गरेका थिए । सोही क्रममा उनले भने,‘पार्टीभित्रको जटिलता, केही समस्या अनुभूत गर्नुभएकै छ । मैले नबोले पनि त्यो देखिन्छ । पार्टी विभाजन हुन दिइने छैन । हिजो गरेका संकल्प सहमति र समझदारीसहित ।’
चीनमा करोडौं सदस्य संख्या रहेको कम्युनष्टि पार्टी माओका पालादेखि सी जिन फिनका पालासम्म आइपुग्दा पनि एकढिक्का रहेको प्रचण्डले उदाहरण दिँदै थपे,‘हामीले यो एकता सजिलै प्राप्त गरेको कुरा पनि होइन । यो एकतासम्म आउन हामीले धेरै ठूलो संघर्ष, धेरै ठूलो मेहनत, धेरै ठूलो बहस गरेका छौं । कुनै पनि पार्टीको विकास या विनास बाह्य कारणले पनि भूमिका त खेल्छ, तर प्रमुख कारण आन्तरिक नै हुन्छ ।’











प्रतिक्रिया