शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

जाजरकोटमा बेपत्ता ८ जनामध्ये दुईको शव भेटियाे

दैनिक नेपाल २०७७ असार २८ गते ९:४०

फाइल तस्बिर

जाजरकाेट, २८ असार । जाजरकोटमा पहिरोमा परी बेपत्ता भएका ८ जना मध्ये शनिबार दुई जनाको शव भेटिएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ९ पुगेको छ भने ६ जना अझै बेपत्ता छन् ।

जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार बेपत्तामध्ये ७ जनाको शव शुक्रबार भेटिएको थियो भने शनिबार थप दुई जनाको भेटिएको हो ।

शनिबार बारेकोट गाउँपालिका–४, सार्कीगाउँका कल्लु सार्की र उनका ६ वर्षका छोरा सुवास सार्कीको सब फेला परेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

बारेकोट गाउँपालिका–४ का ५२ वर्षीय गोपाल सार्की, उनको ११ वर्षका छोरा अर्जुन सार्की र १४ वर्षीया छोरी तिर्खा सार्की र कलुको घरमा पाहुन आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की, १४ वर्षीकी गौरी, १६ वर्षकी कविता र १८ वर्षका वीरेन्द्र सार्कीको शव शुक्रवार नै भेटिएको थियो ।

बिहीबार रातिको पहिरोले बारेकोट गाउँपालिका–४ सार्कीगाउँका गोपाल सार्की र कालु सार्कीको घर बगाउँदा १२ जना बेपत्ता भएका थिए ।

शुक्रबार नै स्थानीय खोलामा बगेका बारेकोट– ६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने पनि भेटिएका छैनन् । सोही दिन खहरे खोलामा बगेका जुनिचाँदे गाउँपालिका–१ का डिल्ली चुनारा पनि बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोमा परी तीन जना गम्भीर घाइते भएका छन् । घाइते भएका बारेकोट–४ का लालबहादुर नेपाली, बारेकोट–६ का रामचन्द्र चलाउने र विज्ञान बोहरालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए  ।

प्रतिक्रिया
सम्बन्धित