शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

४५ करोड हिनामिना गरेको आरोपमा सहकारी सञ्चालक पक्राउ

दैनिक नेपाल २०७७ असार २७ गते २१:३२

बाँके, २७ असार । करिब ४५ करोड रुपैयाँ हिनामिना भएको नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका सञ्चालक समिति अध्यक्ष हरदेवबक्स चौधरी पक्राउ परेका छन् ।

सहकारीको रहम हिनामिना प्रकरणपछि फरार चौधरीलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिए ।

सहकारीको रकम हिनामिना प्रकरणका आरोपितमध्ये अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । कतिपयविरुद्ध मुद्दा दायर भइसकेको छ । यसअघि संस्थाका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिइसकेको छ ।

जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधअन्तर्गत अभियोगपत्र दायर भएको थियो ।

सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयरधनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारवाहीको माग गर्दै जाहेरी दिएका छन् । –रासस

प्रतिक्रिया
सम्बन्धित