
काठमाडौँ, २७ असार । नेपालमा कोरोनाभाइरस संक्रमणका कारण थप ३ जनाको मृत्यु पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई जनाको पाटन अस्पताल र एक जनाको केएमसी अस्पतालमा मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौं महानरपालिका १० शंमखुलका ६० वर्षीय पुरुष १६ असारमा पाटन अस्पतालमा भर्ना भएका थिए ।
मिर्गौला रोगका विरामी उनी फोक्सोमा पानी जमेपछि अस्पताल पुगेका थिए । अस्पतालमा भर्ना भएको भोलिपल्ट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा २६ गते निधन भएको हो ।
पाटन अस्पतालमा नै सिन्धुपाल्चोकको पाँचपोखरी ६ का ४५ वर्षीय पुरुषको पनि निधन भएको छ । उनी क्षयरोगको उपचारका लागि १८ गते अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा गरिएको परीक्षणमा २२ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो र २५ गते उनको निधन भएको छ ।
त्यस्तै, केएमसी अस्पताल, सिनामंगलमा निधन भएका गोकर्णेश्वर ४ का ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मिर्गौला रोगका विरामी उनलाई श्वास प्रश्वासमा समेत समस्या भएपछि १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर आईसीयूमा बेड नभएपछि केएमसी रिफर गरिएको थियो । उनको २१ गते नै स्वाब संकलन गरिएको थियो ।
रिपोर्ट नआउँदै असार २५ मा उनको मृत्यु भएको थियो । भोलिपल्ट अस्पतालले कोरोना पुष्टि भएको जनाएको हो ।
यससँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ । शनिबार थप ७० जना थपिएसँगै कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ जना पुगेको छ भने ८ हजार ४४२ जना निको भइसकेका छन् ।















प्रतिक्रिया