
चितवन, २७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर मान्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
भरतपुर महानगरपालिका वडा नं २७ र २८ को सीमाक्षेत्र न्यूरेचोकमा नारायणीले कटान गरेको क्षेत्रको आज निरीक्षण गर्दै उनले तत्कालका लागि अस्थायी समाधानको काम नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गरिरहेको बताए ।
यस क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसदसमेत रहेका दाहालले प्रधानमन्त्रीसँगको आजको संवादलाई छाडेर आफू निरीक्षणमा आएको बताए । पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्रीसँग परामर्श गरेर आफू निरीक्षणमा आएको अध्यक्ष दाहालले जानकारी दिए ।
दाहालले आफू निर्वाचित भएदेखि नै राप्ती र नारायणीमा तटबन्धसहितको चक्रपथ अघि वढाएको बताए । विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन कार्य भइसकेको र बजेटका लागि अर्थ मन्त्रालयमा कुरा भईरहेको दाहालले जानकारी दिए । उनले सरकार सकारात्मक रहेकाले सो काम सम्पन्न हुने विश्वास दिलाए ।
पानीपरेपछि शुक्रबारबाट सो क्षेत्रमा नारायणीले कटान गर्न शुरु गरेको हो। दाहाललाई यस क्षेत्रका प्रदेशसभा सदस्य कृष्ण भुर्तेल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नदी कटानका बारेमा जानकारी गराएका थिए। दाहालले आजै माडी नगरपालिकाको बाढी प्रभावित विभिन्न क्षेत्रको पनि निरीक्षण गर्दै छन् ।
पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले शनिबार चितवनमा नारायणी र अन्य नदीको कटान अवलोकनपछि आवश्यक तटबन्ध निर्माणका लागि निर्देशन दिएका छन् ।
अध्यक्ष दाहालको निर्वाचन क्षेत्र माडीमा खोलाले बगाएर ३० वर्षीय एक युवकको मृत्यु भएपछि उनी चितवन आएका हुन् । माडीमा शुक्रबार दिउँसो खहरे खोला तर्ने क्रममा बाढीले बगाएका ती युवकको शव शनिबार माडी नगरपालिका–७, हरिनगरमा भेटिएको थियो ।
नेकपा अध्यक्ष दाहालले माडी जानुपूर्व भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ को सीमाक्षेत्र न्यूरेमा नारायणी नदीले गरेको कटान अवलोकन गरेपछि तटबन्धको काम प्रभावकारी रुपमा गर्न निर्देशन दिएका थिए । त्यस क्षेत्रमा नारायणीले चार मिटरसम्म जमिन कटान गरेको छ ।
बाढी प्रभावित क्षेत्र निरीक्षणमा पूर्वप्रधानमन्त्री दाहालसँगै वागमती प्रदेशका सांसदद्वय कृष्ण भूर्तेल र विजय सुवेदी, भरतपुर महानगर प्रमुख रेनुु दाहाल, नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियार लगायत सहभागी थिए । नारायणीले कटान गरेको क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा तटबन्धको काम भइरहेको छ । –रासस















प्रतिक्रिया