
म्याग्दी, २७ असार । म्याग्दीको पहिरोमा बेपत्तामध्ये २० जनाको शव भेटिएको छ ।
जिल्लाको धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका २० जनाको शव भेटिएको हो । हराएका ३४ जनामध्ये २० जनाको शव भेटिएको प्रहरीले जनाएको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र, सेना र स्थानीयहरु रहेका छन् ।
हालसम्म धवलागिरी–६ मराङका ११, मालिका–७ बिमका ८ र रघुगंगा–६ ठाडाखानीका १ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
शव भेटिएकोमा धवलागिरी–६ कल्लेनीका १८ वर्षीय प्रकाश केसी, राम्चेका सुकना लामगादे, आशिष दामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मनबहादुर श्रीपाली, कमला श्रीपाली, सुरक्षा श्रीपाली र सुरज श्रीपाली रहेका छन् । यसअघि शुक्रबार पहिरोले पुरिएका मराङको ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव भेटिएको थियो ।
बिमकी बिष्णु शर्मा, इच्छा केसी, गौदेवी नेपाली, विशेष नेपाली, बिरबहादुर नेपाली, उनका ३ महिनाका छोरा, बिष्णु नेपाली, सन्दिप नेपालीको शव भेटिएको हो ।
अझै केही बेपत्ता रहेको र खोजी कार्य भइरहेको जनाइएको छ ।
बाढीपहिरोले ४३ घर पुरिएका छन् । पहिरोमा के कति पशुचौपाया र धनसम्पत्तिको क्षति भयो यकिन विवरण संकलन भएको छैन ।
पहिरोमा अलपत्र परेकामध्ये कल्लेनी क्षेत्रका ६० जनालाई छिमेकी ताकमको सिवाङमा, मराङ क्षेत्रका २ सय जनालाई राम्चेस्थित दलित सामुदायिक भवनमा र घन्टीवाङ, अर्वाङ क्षेत्रका १ सय ५० जनालाई जनविकास आधारभूत विद्यालयमा राखिएको छ ।















प्रतिक्रिया