शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

म्याग्दीमा हराइरहेका मध्ये ११ जनाकाे शव फेला, २३ जना अझै बेपत्ता

दैनिक नेपाल २०७७ असार २७ गते ७:४१

म्याग्दी, २७ असार । म्याग्दी जिल्लामा पहिराेमा परेर हराइरहेका मध्ये ११ जनाकाे शव फेला परेकाे छ ।

लगातारको वर्षापछि शुक्रबार बिहान आएको पहिरोमा बेपत्ता भएका ३४ जनामध्ये ११ जनाको शव फेला परेको हाे ।

प्रहरीका अनुसार २३ जना अझै बेपत्ता छन् । मृतकहरूको पहिचान खुलेको छैन ।

धौलागिरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष राजाराम सुवेदीका अनुसार मराङमा १० जना र रघुगंगा गाउँपालिकाको ठाडाखानीमा १ जना गरी ११ जनाको शव फेला परेको छ ।

पहिरोमा मराङको रिख, कल्लेनी, राम्चे, नाम्रुक, कम्दी बस्तीमा अझै ११ जना, ताकममा ३ जना र मालिका गाउँपालिका–७, विमको दुलेमा ८ जना गरी २३ जना अझै बेपत्ता छन् ।

जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरले शुक्रबार मालिका गाउँपालिका केन्द्र दरवाङ पुगेको सुरक्षाकर्मीकाे उद्धार टोली शनिबार बिहान घटनास्थलतर्फ पैदल हिँडेको बताए ।

बाढीपहिरोले ४३ घर पुरिएका छन् । पहिरोमा के कति पशुचौपाया र धनसम्पत्तिको क्षति भयो यकिन विवरण संकलन भएको छैन ।

पहिरोमा अलपत्र परेकामध्ये कल्लेनी क्षेत्रका ६० जनालाई छिमेकी ताकमको सिवाङमा, मराङ क्षेत्रका २ सय जनालाई राम्चेस्थित दलित सामुदायिक भवनमा र घन्टीवाङ, अर्वाङ क्षेत्रका १ सय ५० जनालाई जनविकास आधारभूत विद्यालयमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित