शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

पीसीआर परीक्षण शुल्क अत्यधिक महँगो

दैनिक नेपाल २०७७ असार २७ गते ७:२५

काठमाडौं, २७ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण पहिचानका लागि गरिने पीसीआर परीक्षणको शुल्य धेरै महँगो निर्धारण गरेको पाइएको छ ।

पीसीआर गर्न चाहिने सामानको बजार मूल्य, बत्ती, पानी, कर्मचारीको पारिश्रमिक जोड्दा पनि सरकारले तोकेको ५ हजार ५ सय रुपैयाँ शुल्क बढी हुन्छ । सरकारले पछिल्लो समय टेन्डरमार्फत खरिद गरेको पीसीआर किट, आरएनए एक्स्ट्र्याक्टर तथा भीटीएमको मूल्यलाई नै आधार मानेर हिसाब गर्दा अहिलेको शुल्क दोब्बर छ ।

स्वास्थ्य सेवा विभागले १ लाख ५० हजार पीसीआर किट तथा आरएनए एक्स्ट्र्याक्टर तथा १ लाख ७० हजार थान भीटीएमका लागि आह्वान गरेको टेन्डरमा विभिन्न कम्पनीले कबुल गरेको मूल्यलाई नै आधार मान्ने हो भने एउटा पीसीआर परीक्षणका लागि दुई हजार रुपैयाँभन्दा बढी पर्दैन । उक्त मूल्यमा अन्य व्यवस्थापकीय खर्च समावेश गर्दासमेत एउटा परीक्षणको तीन हजार रुपैयाँभन्दा बढी नपर्ने देखिन्छ ।

विश्व बजारमा विभिन्न कम्पनीले पीसीआर परीक्षणका लागि आवश्यक पर्ने किट, आरएनए एक्स्ट्र्याक्टर तथा भीटीएम उत्पादन गर्न थालेसँगै मूल्यमा गिरावट आएको छ । ‘सरकारले निर्धारण गरेको ५ हजार ५ सय रुपैयाँ शुल्क देशमा भर्खर कोरोना देखिएका बेला त ठीकै हो । अहिले धेरै भयो,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक प्राविधिकले भने, ‘यस्तो बेला नाफा राखेर शुल्क निर्धारण गर्नु ठीक होइन ।’

विभागले जेठ ११ मा निकालेको बोलपत्रमा १४ वटा सप्लायर्सले आवेदन दिएकामा पीसीआर रिएजेन्टको मूल्य सबैभन्दा बढी चीनको ‘दा एन जिन’ ले १ हजार ४ सय ८० रुपैयाँ प्रस्ताव गरेको छ भने सबैभन्दा कम ‘सांघाई जेडएल बायोटेक’ ले ८ सय रुपैयाँ राखेको छ । यस्तै आरएनए एक्स्ट्र्याक्सनमा सबैभन्दा बढी मूल्य ‘सांघाई जेडएल बायोटेक’ कम्पनीको ४ सय रुपैयाॅँ छ भने सबैभन्दा कम चीनकै ‘हुनान रुनमेई जिन’ ले उत्पादन गरेको आरएनए एक्स्ट्र्याक्सनको मूल्य १ सय ९५ रुपैयाँ छ ।

प्रस्तावमा आरएनए एक्स्ट्र्याक्सनको मूल्य औसतमा ३ सय २९ मात्रै छ भने पीसीआर रिएजेन्टको औसत मूल्य पनि १ हजार १ सय २६ रुपैयाँ छ । यस्तै विभागले खरिद गरेको भीटीएमको मूल्य मात्रै १ सय ७० रुपैयाँ छ । विभागले भीटीएम खरिद गर्नका लागि निकालेको बोलपत्रमा २० वटा सप्लायर्सले आवेदन दर्ता गराएका थिए । जसमा चिनियाँ कम्पनी ‘हाङजाउ बायोर टेक्नोलोजी’ को भीटीएमको सबैभन्दा कम १९ रुपैयाँ मात्रै प्रस्ताव गरिएको थियो भने सबैभन्दा बढी भारतीय कम्पनी ‘भ्यानगार्ड डायग्नोस्टिक’ को २ सय ८८ रुपैयाँ प्रस्ताव गरिएको थियो । ती प्रस्तावलाई आधार मान्दा एउटा भीटीएमको औसत मूल्य करिब २ सय ७ रुपैयाँ मात्रै पर्ने देखिन्छ ।

पीसीआर परीक्षणका लागि आवश्यक पर्ने मुख्य सामग्री आरएनए एक्स्ट्र्याक्सनमा औसत ३ सय २९, पीसीआर रिएजेन्टमा औसत १ हजार १ सय २६ रुपैयाँ र भीटीएममा औसत २ सय ७ रुपैयाँ गरी १ हजार ६ सय ६१ रुपैयाँ मात्रै पर्छ । त्यसमा पीसीआर मेसिन, एक्स्ट्र्याक्सन मेसिन, बायोसेफ्टी क्याबिनेट, अटोक्लेभ मेसिन, पीपीई, मानव संसाधन तथा अन्य व्यवस्थापकीय खर्चसमेत जोड्ने हो भने एउटा पीसीआर परीक्षण गर्न तीन हजार रुपैयाँमा सजिलै परीक्षण गर्न सकिने विज्ञहरू बताउँछन् ।

अन्य ल्याबले लिनेभन्दा सस्तोमा पीसीआर गर्न तयारी गरिरहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्तपालका निर्देशक डा. सागर राजभण्डारीले बताए । ‘ल्याबमा काम गर्नेलाई थप भत्तासमेत दिनुपर्ने भएकाले चार हजारसम्ममा परीक्षण गर्न सकिन्छ,’ उनले भने, ‘बजेट सुनिश्चित भएपछि सस्तोमा पीसीआर गर्न अनुमति लिन्छौं ।’

मोलिक्युलर प्रयोगशालाका एक विज्ञ चिकित्सकका अनुसार नयाँ प्रयोगशाला स्थापना गर्ने हो भने पनि सबै खर्च जोड्दा करिब ६० लाख रुपैयाँ खर्च हुन्छ । ‘सरकारले नै पीसीआर परीक्षण गर्न किनेका सामग्रीको मूल्य १ हजार ६ सय ६० रुपैयाँ हाराहारी मात्रै छ । त्यसमा पीपीईको मूल्य जोड्ने हो । एक सय परीक्षण गर्न एउटा मात्रै पीपीई लाग्छ । त्यो भनेको एउटा परीक्षण गर्नका लागि पीपीईको मूल्य बढीमा ३५ रुपैयाँ हो,’ उनले भने ।

ती विज्ञले विश्व बजारमा हरेक दिन पीसीआर किट, पीपीईलगायतका सामग्रीको मूल्यमा गिरावट भइरहेकाले ३ हजार रुपैयाँमा सजिलै परीक्षण गर्न सकिन्छ । ‘पानी, बत्ती, मानव संसाधन लगातमा हुने खर्च जोड्दा पनि धेरै पर्दैन । त्यसमा पनि सरकारले नमुना प्रयोगशालासम्म नै पुर्‍याइदिने भनेको छ,’ उनले भने, ‘अझ सबै मापदण्ड पुर्‍याउने प्रयोगशालालाई परीक्षणका लागि खुला गर्ने हो भने परीक्षण गराउनेको संख्या धेरै हुन्छ । यस्तोमा परीक्षण शुल्य झनै तल झर्छ ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले पनि केही साताअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जति धेरै परीक्षण गर्‍यो परीक्षण शुल्क पनि त्यति नै कम हुँदै जाने बताएकी थिइन् । ‘एक जना मात्रै ट्याक्सी चढेर भक्तपुर गइयो भने कति पर्छ ? त्यसमा ४ जना चढेर गइयो भने एक जनाको भागमा कति पर्छ ? पीसीआर परीक्षणको शुल्क पनि त्यस्तै हो,’ उनले भनेकी थिइन् ।

उनले त्यतिबेला दिएको जानकारीअनुसार सबै हिसाब गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिने एउटा परीक्षणको खर्च तीन हजारदेखि बढीमा ३५ सयसम्म मात्रै पर्छ । ‘मैले मन्त्रालयमा जे जानकारी गराएकी थिएँ कुरा त्यही नै हो,’ उनले भनिन्, ‘अहिले तोकिएको मूल्य अन्तरिम हो । मन्त्रालयले बेठीक लागे कुनै पनि बेला यसमा पुनरावलोकन गर्न सक्छ ।’

सरकारले महँगो शुल्क निर्धारण गरेकाले पीसीआर परीक्षण सर्वसाधारणको पहुँच बाहिर गएको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार पीसीआर परीक्षणमा बढी नाफा हुने भएपछि केही प्रयोगशाला परीक्षणको अनुमति प्राप्त गर्नका लागि दौडिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पीसीआर परीक्षण शुल्क घटाउन जरुरी रहेको बताए । ‘कोरोना संक्रमितको उपचार खर्चलाई अवैज्ञानिक रूपमा घटाउन हुने तर परीक्षण शुल्क लागतभन्दा दोब्बर कायम नै राख्नुपर्ने किन ? यसको अनुसन्धान हुन जरुरी छ,’ उनले भने । स्वरूप आचार्य र मकर श्रेष्ठले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित