शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

‘सास भेटिने आस मर्‍यो, लास भेटे हुन्थ्यो’

दैनिक नेपाल २०७७ असार २७ गते ६:३७

सिन्धुपाल्चोक, २७ असार । दुई दिनअघि घरमा सकुशल छाडेकी आमालाई मध्यरातमा आएको बाढीले बेपत्ता बनाउला भन्ने बाह्रबिसे नगरपालिका–५ जम्बुका दावा तामाङले कल्पना पनि गरेका थिएनन्। मजदुरी गरेर आमालाई खुसी बनाउन घरनजिकै गाउँको विद्यालय निर्माणको काममा गएका दावा मध्यरातमा आएको ठूलो आवाजसँगै बेपत्ता भएकी आमालाई खोज्न बाढीले बगाएको आफ्नो घरआसपास घुमिरहेका छन्।

साँझ मात्रै आमासँग फोनमा गफ गरेर आफू केही दिनपछि मात्र घर आउने बताएका दावाको आमासँगको अन्तिम संवाद नै त्यही बन्यो। आफू बसेको गाउँबाटै बुधबार मध्यरातमा ठूलो आवाज आएको सुनेर दौडिएर आएका दावाले न आमा भेटे न भूकम्पपछि पुनर्निर्माण गरेको घर नै। बिहानसम्म आमा कतै भेटिने आशामा रहेका दावा दिन ढल्दै जाँदा पनि सम्पर्कमा नआएपछि जीवित भेटिने आशा मार्न थालेका छन्। ‘आमाको श्वास भेटिने आशा त मर्‍यो कम्तिमा लास भेटे पनि मनमा सन्तोष त हुन्थ्यो’, दावाले टेलिफोनमा भने, ‘बुधबार रातको पानी हाम्रो लागि अभिशाप बनेर आएको रहेछ।’ दावा मात्र हैन, बेपत्ता भएकाको परिवारका सदस्य अहिले यही भन्न थालेका छन्।

अविरल वर्षाले राजमार्गमा पर्ने जम्बु बजार माथिबाट आउने याल्मो खोलामा लेदो सहितको बाढी आएर बस्तीमा पस्दा झन्डै १५ घर बगाएको थियो। बाढीमा परेर दुईजनाको मृत्यु भयो भने १८ जना अझै बेपत्ता छन्। बाढीमा परेका सहकर्मी इन्जिनियर आकाश केसी भेटिने आशामा शुक्रबार राजधानीबाट यमन भुषाल बाह्रबिसे आएका छन्। राजधानी आउँदा आफ्नैमा बस्ने केसी अझै भेटिन्छ कि भन्ने उनलाई आशा छ। दाङको तुलसीपुरमा रहेका आकाशका बाबुआमालाई ऊ सम्पर्कविहीन मात्र भएको खबर पठाइएको छ। राति बजारमा बाढी आएपछि भाग्ने क्रममा बेपत्ता भएका आकाशसँगै जाइका परियोजनाअन्तर्गत पुनर्निर्माण कार्यमा खटिएका इन्जिनियर सुशिल पन्थीले बताए।

‘ठूलो आवाजसहित बाढी बस्तीमा पसेपछि भाग्ने प्रयास गर्दा आकाश हरायो’, पन्थीले भने, ‘ऊ हराउनु अघिसम्म हामी सातैजना सँगै थियौं।’ पन्थीका अनुसार सबैजना भाग्न खोज्दा सडकमै बाढी आएपछि सबै पुनः घरभित्र पसे तर आकाश आएनन्। बाहिर निस्केर ठूलो आवाजमा कराउँदासमेत आकाश नआएपछि बिहान भेटिने आशामा बाँकी ६ जना सुरक्षित स्थानतर्फ लागे। ‘तर, बिहान मात्र होइन, सिंगो दिन बित्दासमेत आकाश सम्पर्कमा आएनन्’, पन्थीले भने।

बुधबार राति जम्बु र बुल्कोटमा आएको बाढीले बेपत्ता बनाएका २२ जना कोही पनि शुक्रबार साँझसम्म नभेटिएको स्थानीय प्रशासनले जनाएको छ। बाह्रबिसेदेखि नै बाढीस्थलसम्म पुग्ने अरनिको राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएकाले बेपत्ता खोजी तथा पीडितलाई राहत पुर्‍याउन समस्या भएको हो। निरन्तरको वर्षाका कारण सडक सुचारु गराउन नसक्दा राहत पुर्‍याउन र बेपत्ताको खोजी गर्न ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

बाढीले मानवीय क्षति पुर्‍याएको जम्बु पुग्नुभन्दा करिब तीन किलोमिटर ओरैको खागदल खोलामा गएको पहिरोले अरनिको राजमार्ग अवरुद्ध बनाएकाले बेपत्ताको खोजीका लागि स्काभेटर पठाउन कठिन भएको ढकालले बताए। ‘घटनास्थलसम्म पुग्न स्काभेटरलाई सडकको ट्रयाक खोल्ने काममा लगाएका छौं’, प्रजिअ ढकालले भने, ‘जति सक्दो छिटो सडकको ट्रयाक खोलेर स्काभेटर बेपत्ताको खोजीका लागि घटनास्थल पठाउने प्रयास गरिरहेका छौं।’ युवराज पुरीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित