बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

कुनै पनि हालतमा यातायात चलाउँदैनौँ, सरकारलाई चाबी बुझाउँछौँ : यातायात व्यवसायी

दैनिक नेपाल २०७७ असार २६ गते १५:०४

काठमाडौँ, २६ असार । सार्वजनिक यातायात महासंघले कुनै हालतमा सार्वजनिक यातायात नचलाउने बताएका छन् ।

उनीहरुले चाबी सरकारलाई बुझाउने बताउँदै यातायात सञ्चालन गरेर देखाउन चुनौती समेत दिए । उनीहरुले पाँच वुँदे माग राख्दै यथास्थितिमा यातायात सञ्चालन गर्न नसकिने बताएका हुन् ।

महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सरकारले पूर्व तयारी विना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदम चालेको बताए ।

आफूहरुलाई हचुवाका भरमा यातायात सञ्चालन गर्न भनिएको बताउँदै अधिकारीले भने ’हामी गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं । आफूहरुको व्यवसाय चौपट भएको भन्दै अब यातायात सञ्चालन गर्न सक्दौनौं ।’

उनले भने ‘यातायात सञ्चालन गर्ने हो भने सरकारले सबै यातायातको राष्ट्रियकरण गरेर चलाओस् । राष्ट्रियकरण गर्दा आफूहरुले यातायातको लागत मुल्य पाउनुपर्छ ।’

सरकारले एकपछि अर्को निजी क्षेत्रलाई समाप्त पार्न लागिपरेको उनको आरोप थियो। सरकारले सञ्चालन गरेका यातायात डुबेको स्मरण गराउँदै अहिले ती संस्थाहरु जग्गा विक्री गरेर खाने भाँडो बनेको बताए ।

निजी क्षेत्रको यातायात क्षेत्रमा ९९ प्रतिशत योगदान रहेको भन्दै यसलाई पनि ध्वस्त पारेर मुलुकलाई दुर्घटनातर्फ धकेल्ने काम भएको बताए ।

यातायात व्यवसायी चार महिनायता मारमा परेको भन्दै मजदुरहरु पनि समस्यामा परेको बताए । यातायात मजदुरलाई तलब दिनका लागि भएपनि कर्जा छुट, केही अनुदान र सहुलियतमा ऋणको व्यवस्थाको माग गरे ।

कार्यक्रममा महासंघका महासचिव भरत नेपालले सरकारले यातायात व्यवसायीहरुसँग कुनै संवाद नगरी एकपक्षीइ निर्णय गरी सार्वजनिक यातायात सञ्चालन गर्न भनेकोमा आपत्ति जनाए ।

उनले यातायात व्यवसायीको तत्कालको मागबारे जानकारी गराए । महासंघका महासचिव नेपालले पाँच बुँदे मागबारे जानकारी गराएका थिए ।

जसमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार याताया मजदुर र आम यात्रुहरुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पूर्ण तालिकीकरण हुनुपर्ने, कागज पत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने, बन्दाबन्दीको अवस्थाको बीमा प्रिमियम छुट समयावधि समायोजनलगायत छन् ।

प्रतिक्रिया
सम्बन्धित