बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

देशभरी बाढी पहिरोको बितण्डा, ३१ को मृत्यु, दर्जनौं बेपत्ता, सोमबारसम्म बर्षा हुने

दैनिक नेपाल २०७७ असार २६ गते १३:११

काठमाडौं, २६ असार । विहीबार रातीदेखि परेको अबिरल बर्षाका कारण देशभरी बाढीपहिरोले ठूलो संख्यामा मानवीयसँगै धनमालको क्षति भएको छ ।

शुक्रबार दिउँसोसम्म देशका विभिन्न ठाउँमा ३१ जनाको मृत्यु, दर्जनौं घाइते र बेपत्ता भएका विवरण आएका छन् ।

म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार लमजुङको वेशीसहर नगरपालिका–७ मा आएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने तीन जनता घाइते छन् ।

यस्तै, कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । पर्वतको दुर्लुङमा गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ । रूकुम पश्चिमको आठबिसकोट–३मा आएको पहिरोमा २ जनाको मृत्यु भएको छ भने १ घाइते भएको गृह मन्त्रालयले जनाएको हो ।

ठाउँ ठाउँमा पहिरो गएपछि राजमार्गहरू अवरूद्ध छन् । धादिङ बेनीघाटमा पहरो आएपछि राजमार्ग अवरूद्ध भएको केन्द्रले जनाएको छ ।

अविरल बर्षाका कारण पानीको सतह बढेपछि कोशी व्यारेजमा ३० वटा ढोका खोलिएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने जल तथा मौसन विज्ञान विभागले जनाएको छ । यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिहरेकाले जमिन गली सकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिरोको जोखिम बढेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित