शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

गरिबी निवारण कोषको नाममा प्रकाशित समाचारप्रति कोषको गम्भीर ध्यानाकर्षण

दैनिक नेपाल २०७७ असार २५ गते १७:३६

काठमाडौँ, २५ असार । गरिबी निवारण कोषको नाममा केही दिन यता विभिन्न सञ्चार माध्यममा श्रृङ्खलाबद्ध रुपमा आएका समाचारप्रति कोषको गम्भिर ध्यान आकृष्ट भएको कोषले जनाएको छ ।

कोषको वर्तमान नेतृत्व आउनुभन्दा धेरै अगाडि प्रकाशित समाचार–कथाहरुको जस्ताको त्यस्तै पुनः प्रकाशन भएकोमा आश्चर्य व्यक्त गर्दै ती समाचारले कोषको वर्तमान नेतृत्व र गतिविधिसँग कुनै सम्बन्ध नराख्ने तथ्य कोषका उपाध्यक्ष निर्मल कुमार भट्टराईले स्मरण गराएका छन् ।

भट्टराईद्धारा जारी विज्ञप्तिमा विश्व बैंकले कोषलाई दिने अनुदान अवधि सकिएपछि नेपाल सरकारले निर्धारण गरेको कार्यविधिअनुरुप कोषको पुनः संरचना गर्ने कार्य भईरहेको कहीँ कतै नछिपेको उल्लेख छ ।

सोही कार्यविधिअनुसार कोषद्वारा प्रवर्धित ३२२७६ सामुदायिक संस्थामा रहेको करिब १९ अरब रुपँयाको देखभाल र व्यवस्थापन गर्न एक मार्गदर्शन

सहित स्थानीय तहलाई हस्तान्तरण गरिसकिएको पनि विज्ञप्तिमा भनिएको छ ।

सो रकमलाई बिऊ पूँजी मानेर देशको ६४ जिल्लामा छरिएर रहेका सबै सामुदायिक संस्थालाई आगामी आर्थिक बर्षभित्र सहकारीमा रुपान्तरण गर्ने नेपाल सरकारको लक्ष कार्यान्वयन गर्न अन्तिम तयारीमा जुटिरहेको कोषविरुद्ध वर्षौं पुराना समाचार–कथाहरुको निरन्तर प्रकाशनले अनावश्यक भ्रममात्र छर्ने काम गरेको विज्ञप्तिमा भनिएको छ ।

यसले अरुको जवाफदेहितामाथि प्रश्न गर्ने सञ्चारमाध्यमले आफ्नो जवाफदेहिता पूर्णरुपेण भुलेको समेत प्रष्ट पारेको छ ।

समाचारमा उल्लेख गरिएजस्तो गाडी, कम्प्युटर लगायतका जिन्सी सामानको यो अवधिमा कुनै अपचलन नभएको जानकारी गराउँदै सो सम्बन्धी तथ्यहीन र कपोलकल्पित समाचार प्रकाशन र पुनःप्रकाशन भएकोमा खेद व्यक्त गर्दै कोषको कार्यालयमा रहेका अन्य चल अचलसम्पत्तिको विवरणसमेत जो कोही सञ्चारकर्मीले चाहेको बखत उपलब्ध हुन सक्ने व्यहोरा समेत विज्ञप्तिमा प्रष्ट पारिएको छ ।

साथै कोषका वर्तमान गतिविधि, उपलब्धि र खासगरी रचनात्मक आलोचना समेटेर समाचार बनाउन चाहने सञ्चारकर्मीलाई कोषले सधैं आवश्यक सहयोग र स्वागत गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित