
काठमाडौँ, २५ असार । सरिता गिरीको प्रतिनिधिसभा सदस्य पद रिक्त भएको संघीय संसद सचिवालयले जनाएको छ ।
समाजवादी पार्टीकी सांसद रहेकी गिरीको पद रिक्त भएको संसदका महासचिव डा. भरतराज गौतमले बिहीबार सूचना प्रकाशित गरेर जनाएका छन् ।
सूचना अनुसार गिरीको समानुपातिक सांसद पद रिक्त भएको हो ।
समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने गिरीले पार्टीको ह्वीप उल्लङ्घन गरेको भनी केन्द्रीय समितिको बैठकले निष्काशन गर्ने निर्णय भएको पत्र प्राप्त हुन आएकोले उनको पद रिक्त भएको सचिवालयले जनाएको हो ।
समाजवादी पाटीले गिरीलाई निष्काशन गरेको सूचनासहित उनलाई सांसदबाट पदमुक्त गर्न बुधबार सचिवालयमा पत्र पठाएको थियो ।
राजनीतिक दल सम्बन्धी ऐन बमोजिम आवश्यक प्रक्रिया पूरा गरेको देखिएकाले संविधान बमोजिम उनको पद रिक्त भएको सचिवालयले जनाएको छ ।
गिरीको पद रिक्त भएसँगै उनको ठाउँमा अब लिला सिटौला सांसद बन्नेछिन् ।















प्रतिक्रिया