
काठमाडौँ, २३ असार । सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य एवम् पर्यटनमन्त्री योगेश भट्टाराईले भारत र चीनले नेपालप्रति देखाएको सम्बन्धमा आफ्नो धारणा राखेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले फुटाउन खोज्ने ठीक कि जोड्न ठीक भन्दै टिप्पणी गरेका छन् ।
नाम उल्लेख नगरिकन उनले ४ बुँदे स्टाटस हालेका छन् जहाँ दुई छिमेकी मुलुकको भूमिकालाई तुलना गरिएको छ ।
भट्टराईले पहिलो बुँदामा प्रश्न गरेका छन्, ‘संविधान बनाउने बेलामा असफल पार्न खोज्नु ठीक कि संविधान निर्माणप्रति सद्भाव राख्नु ठीक ?’
भारतले सक्रिय रुपमा नेपालमा संविधान घोषणा हुने बेलामा रोक्न खोजेको थियो । मन्त्री भट्टराईको स्टाटसले त्यसैलाई इंगित गरेको हो ।
त्यस्तै, उनले अर्को प्रश्न सोधेका छन्, ‘पहिलो र दोस्रो संविधानसभाको बेलामा तराई र पहाड, जाति–जनजातिको सामान्य अन्तरविरोधलाई चर्काएर नेपालमा विग्रह ल्याउन प्रयत्न गर्नु ठीक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सदभाव राख्नु ठीक ?’
त्यसैगरी भट्टराईले भारतले लगाएको नाकाबन्दीको प्रसंग उल्लेख गरेका छन् ।
‘नेपालमाथि नाकाबन्दी लगाएर हायल कायल पार्न खोज्नु ठीक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देऊ भन्नु ठीक ?’ उनले प्रश्न गरेका छन् ।
मन्त्री भट्टराई लेख्छन्, ‘पार्टी र पार्टीभित्रको अन्तरविरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठीक वा सबै पार्टीबीच राम्रो एकता बनाउँदै नेपालको समृद्धिप्रति सद्धभाव राख्नु ठीक ?
र अन्त्यमा भट्टराइले भनेका छन्, ‘कसैको पनि कुरा सुन्नु राम्रो हो । मान्ने नमान्ने अधिकार हाम्रो हो ।’















प्रतिक्रिया