बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्न सिफारिस

दैनिक नेपाल २०७७ असार २३ गते १५:२६

काठमाडौँ, २३ असार । सांसद सरिता गिरीलाई कारवाही गर्न समाजवादी पार्टी कार्यदलले सिफारिस गरेको छ ।

सांसद गिरीलाई पार्टीको ह्वीप उल्लंघन गरेको आरोपमा कार्यदलले कारवाहीका लागि सिफारिस गरेको हो ।

गिरीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नक्सासहितको निशान छाप प्रयोग गर्नका लागि भएको संविधान संशोधनमा पार्टीको निर्देशन उल्लंघन गरेकी थिइन् ।

जेठ २७ गते संविधान संशोधनका लागि भएको मतदानमा पार्टीले सबै सांसदलाई मतदान गर्न ह्वीप जारी गरेपनि गिरीले उल्लंघन गर्दै बैठक चलिरहँदा बाहिरिएकी थिइन् ।

त्यस विषयमा के गर्ने भन्ने धारणा बनाउन पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले गिरीमाथि कारवाही गर्न पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको हो ।

राष्ट्रियता र विशेष अवस्थामा पनि पार्टीको निर्देशन नमानेको जनाउँदै गिरीलाई पार्टी एवम सांसदबाट निष्कासन गर्न सिफारिस गरिएको कार्यदलले जनाएको छ ।

कार्यदलको उक्त सिफारिसका विषयमा पार्टीले छलफल गर्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित