शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नेकपामा केन्द्रीय कमिटी बैठकको माग

दैनिक नेपाल २०७७ असार २२ गते ६:१६

काठमाडौं, २२ असार । नेकपामा देखिएको विवाद समाधान गर्न आइतबार पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकस्सी भएको छ । दुवै जना आआफ्नो अडानमा यथावत् रहँदा विवाद समाधान हुन नसकेको हो ।

प्रधानमन्त्रीको राजीनामा प्रकरणले नेकपा शीर्ष नेतामा बढ्दै गएको दुरीका बीचमा सहमतिको मिलनबिन्दु खोज्ने प्रयास भए पनि उपलब्धि शून्य भएको छ । ओली र दाहाललाई सहमतिमा ल्याउन दोस्रो पुस्ताका शीर्ष नेताहरूले पहल थालेका छन् ।

ओली र दाहालका बीचमा भएको छलफलमा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, वर्षमान पुन, जनार्दन शर्मासमेतको सहभागिता रहेको थियो ।

नेकपा महासचिव पौडेलले दुई अध्यक्षबीचको छलफल सकारात्मक रहेको र थप छलफलका लागि सोमबार पुन छलफल गर्ने सहमति भएको बताए । सोमबार स्थायी कमिटी बैठकसमेत बोलाइएको छ । बैठक बस्नुभन्दा अघि दुई अध्यक्षका बीचमा छलफल गर्ने सहमति भएको छ ।

यस्तै, उपप्रधान, रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य पोखरेल, महासचिव पौडेल, स्थायी कमिटीका सदस्य एवं ऊर्जामन्त्री पुन, स्थायी कमिटी सदस्य शर्मासहितको चार सदस्यीय एक कार्यदल गठन भएको छ ।

अनौपचारिक रूपमा गठन भएको यो कार्यदलले सहमतिको मिलनबिन्दु खोज्ने प्रयास गर्ने बताइएको छ । यो कार्यदलको आइतबार साझ दाहाल निवास खुमलटारमा बैठकसमेत बसेको नेकपा स्रोतले जनाएको छ ।

यसैबीच स्थायी कमिटीको बैठक चलिरहेकै बेला पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरिएको छ । नेकपा केन्द्रीय सदस्य दिलु पन्तले पछिल्लो राजनीति अवस्थाका साथै पार्टीका विभिन्न विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाउन हस्ताक्षर सुरु गरिएको बताइन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सांकेतिक धर्ना दिइरहेका केन्द्रीय सदस्यले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउन लागि हस्ताक्षर अभियान सुरु गरेका हुन् । पार्टीलाई विधि, पद्धति र विधानअनुसार सञ्चालन गर्नुपर्ने, पार्टी विभाजन रोक्नुपर्नेलगायतका मागसहित विगत दुई दिनदेखि केन्द्रीय कार्यालयमा सांकेतिक धर्ना दिइरहेका केन्द्रीय सदस्यले अब सबै विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठकको आवश्यकता रहेको जनाएका छन् ।

विधानअनुसार पार्टी सचिवालय, स्थायी कमिटीले कुनै पनि निर्णय गरे पनि त्यसको अनुमोदन केन्द्रीय कमिटीको बैठकबाट गराउनुपर्छ । पार्टीभित्र विभाजनको खतरा बढ्दै गए पछि केन्द्रीय सदस्यले हस्ताक्षर अभियान सञ्चालन गरेर नेतृत्वलाई दबाब दिएका हुन् ।

यसैबीच पार्टी एकतालाई बचाउन प्रभावकारी भूमिका खेल्न नेकपाको प्रवासी कमिटीले अध्यक्षद्वय ओली र दाहाललाई आग्रह गरेको छ । ३५ देशमा रहेका प्रवासी कमिटीका अध्यक्ष र सचिवहरुले प्रवास समन्वय कमिटीमार्फत ध्यानकर्षण गराउँदै पार्टीलाई फुटबाट जोगाउन माग गरेका हुन् । सुभाष साहले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित