बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

क्वारेन्टाइन धान्नै मुस्किल

दैनिक नेपाल २०७७ असार २१ गते ७:३०

काठमाडाैं, २१ असार । ‘चिसो भुइँमा बसेको एक महिना हुनै लागेको छ। तर, अहिलेसम्म रिपोर्ट आएको छैन। हामीलाई कहिलेसम्म स्कुलको चिसो कोठामा थुनिने हो थाहा छैन।

बैतडी सुर्नया गाउँपालिका–१ हटैराजका वीरबहादुर चन्दको गुनासो हो यो। चन्दलगायत स्थानीय क्वारेन्टाइनमा बसेको १४ दिनपछि आरडीटी गरियो। त्यसको रिपोर्ट पोजिटिभ आएपछि स्वाब संकलन गरियो। स्वाब संकलन गरेको पनि १५ दिन पुग्नै लागेको छ। तर, रिपोर्ट आएको छैन।

सुर्नया गाउँपालिका–२ मा रहेको राष्ट्रिय मावि ग्वानी क्वारेन्टाइनमा १३ जना छन्। तीमध्ये ५ जना क्वारेन्टाइनमा बसेको महिना दिन भएको छ। वर्षात्को समयमा विद्यालयका कोठा चिसो भएर बस्न मुस्किल भएको सुर्नया–१ का कालुराम लुहारले बताए। भने, ‘हाम्रो आरडीटी पोजेटिभ आएको पनि १५ दिन भइसकेको छ। तर छुट्टी पाइएको छैन। चिसोले कम्मर दुखेर हामीलाई क्वारेन्टाइनमा निकै समस्या छ।’

बर्षा हुने बित्तिकै कोठाभित्र पानी पस्ने गरेको छ। सुर्नया गाउँपालिका–३ का कृष्णबहादुर बिष्टले भने, ‘हाम्रो रिपोर्ट समयमा नआउँदा घरपरिवार समेत आत्तिएका छन्। हामीलाई चिसोले कोरोनाभन्दा अन्य बिरामीको डर भएको छ।’

क्वारेन्टाइनमा बसेकाहरूको समयमा रिपोर्ट नआउँदा जनप्रतिनिधिहरू पनि समस्यामा छन्। आरडीटी पोजेटिभ आएकाहरूको स्वाब संकलन गरेर पठाइएकोमा समयमा रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेकाहरूले जनप्रतिनिधिहरूलाई सोधेर हैरान गरेका छन्। तर उनीहरूसंग कुनै जवाफ हुँदैन। सुर्नया गाउँपालिका–२ का वडाध्यक्ष हर्कबहादुर पाण्डेयले भने, ‘हामीलाई समेत मानसिक तनाव भएको छ भने क्वारेन्टाइनमा बसेकाहरुलाई झन कति तनाव भएको होला।’

जिल्लाका अन्य ठाउँका क्वारेन्टाइनमा बसेकाहरूको पनि समयमा रिपोर्ट नआउँदा समस्या भएको छ। आरडीटी पोजेटिभ आएर स्वाब संकलन भएकाको एक महिनासम्म समेत रिपोर्ट नआउँदा उनीहरूलाई घर पठाइएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए। उनले भने ‘समयमा रिपोर्ट नआउँदा हामीलाई झन समस्या हुने गरेको छ। पीसीआर पोजेटिभ आएपछि पुनः घर घरबाट खोजेर आइसोलेसनमा राख्नुपर्ने बाध्यता रही आएको छ।’

जिल्लाका १० ओटै स्थानीय तहका क्वारेन्टाइनमा खासगरी भारतबाट फर्केका झण्डै सात सय जना बसेका छन्। आरडीटी पोजेटिभ आएका झण्डै ५ सय नागरिकको पीसीआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित