शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

फुटको जोखिममा नेकपा, नेताहरूले अडान नबदले नेकपा विभाजित हुन सक्ने

दैनिक नेपाल २०७७ असार २१ गते ६:४४

काठमाडौं, २१ असार । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन बनाएर होमिएका तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा दुई वर्षमै फुटको संघारमा पुगेको छ । विशेष गरी तीन नेता केपी शर्मा ओली, पुष्पकमल दाहालर माधव नेपालको शक्ति संघर्षका कारण पार्टी फुटको जोखिममा आइपुगेको हो ।

दोस्रो र तेस्रो तहका नेताहरूको पहलका बाबजुद पनि प्रधानमन्त्री ओली र दाहाल–नेपाल पक्ष आ–आफ्नो अडानबाट पछि हटेका छैनन् । ‘आम कार्यकर्ता र समर्थक पार्टी एकताको पक्षमा छन्, यसका लागि जोडबल गरिरहेका छौं,’ प्रधानमन्त्री ओलीसँगको बैठकपछि बालुवाटारबाट बाहिर निस्केका मन्त्री घनश्याम भुसालले भने, ‘सकेसम्म मिलाउने प्रयास हो तर पार्टी फुटाउने प्रयत्न भइरहेको छ र यो काम हामीभित्रैबाट भइरहेको छ, जुन दु:खद छ ।’

विगतमा कम्युनिस्ट पार्टीहरू फुट्दा एकले अर्कालाई लगाउने गरेजस्तै ‘देशी–विदेशी षड्यन्त्र’ को आरोप यस पटक पनि लागिसकेको छ । प्रधानमन्त्री ओलीले यसअघि सार्वजनिक रूपमै आफूलाई हटाउन भारतीय चलखेल भएको र त्यस्तो चलखेल गर्ने आफ्नै पार्टीका नेताहरूसमेत रहेको सार्वजनिक रूपमा भनिसकेका छन् । त्यही पृष्ठभूमिमा नेताहरूबीच चुलिएको तिक्तता विभाजनको दिशातर्फ उन्मुख छ ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरूसँगको छलफलमा राष्ट्रपति विद्यादेवी भण्डारी र आफूलाई हटाउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै यो काममा आफ्नै पार्टीका नेताहरू संलग्न रहेको संकेत गरिसकेका छन् । जुनसुकै स्टेप सामना गर्न आफू तयार रहेको जनाउँदै उनले मन्त्रीहरूलाई अबको आफ्नो बाटो पनि स्पष्ट पार्न सुझाएका छन् ।

दुई वर्षअघि राजनीतिक स्थिरता र समृद्धिको नारा लगाउँदै जनमतको बलमा शासन सत्तामा पुगेको नेकपा आफैंले निर्धारण गरेको कार्यभारलाई लत्याउँदै यतिबेर नेताहरूको अविश्वास र कार्यशैलीगत कमजोरीको दोसाँधमा आइपुगेको हो । शनिबार साँझसम्मको नेकपा नेताहरूको पोजिसन एकले अर्कालाई नस्विकार्ने खालको छ । दाहाल–नेपाल समूह कुनै पनि हालतमा प्रधानमन्त्री ओलीलाई दुईमध्ये एउटा पदबाट हटाउन चाहन्छ । ओलीलाई अहिले पनि ठेगान लगाउन सकिएन भने ज्यादती अझै आफूहरूले खेपिरहनुपर्ने सोचाइ उक्त समूहको छ ।

त्यसैले दाहाल–नेपाल समूह कुनै पनि हालतमा आफ्नो पोजिसन नबदल्ने अडानमा छ । यो अडानलाई ओलीले आफूविरुद्धको षड्यन्त्रका रूपमा लिएका छन् । उनले बेलाबेखत राष्ट्रपतिका विषयमा समेत असन्तुष्ट नेताहरूले दिइरहेका अभिव्यक्तिलाई लिएर उनलाई समेत हटाउने षड्यन्त्रका रूपमा बुझेका छन् । ओलीलाई यतिबेला यो सबै काममा भारतीयहरूको हात छ भन्ने ‘भ्रम’ परेको छ । नेपालको नक्सा जारी गरेपछि चिढिएको भारतले सत्ताबाट हटाउन षड्यन्त्र गरेको र त्यसको गोटी दाहाल र नेपाल बनिरहेको ओलीको बुझाइले अहिले नेकपालाई फुटको संघारमा पुर्‍याएको हो । दुर्गा खनालले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित