शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

खुमलटारमा बिहानै पुगे ओली निकटका नेता

दैनिक नेपाल २०७७ असार १९ गते ६:२६

काठमाडाैं, १९ असार । नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) र सरकारको नेतृत्वबाट राजीनामा दिनुपर्ने माग उठेपछि बिहीबार बिहानै केपी ओली निकटका नेताहरू पार्टीका अर्का अध्यक्ष पुष्कमल दाहाललाई भेट्न खुमलटार पुगेका थिए ।

अध्यक्ष दाहालले पार्टी र सरकार सञ्चालनलगायतका विषयमा गम्भीर छलफल हुनुपर्ने बताएका थिए । दुवै अध्यक्षबीच सरकारलगायतका विषयमा खुलेर छलफल हुनुपर्ने उनको भनाइ थियो ।

दाहाल, नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा गर्नुपर्ने माग गरेपछि नेताहरूबीच भेटघाट, छलफल बाक्लो हुँदै गएको छ । ‘तपार्इंहरूले हामीबाट जे कमी कमजोरी भएको छ, त्यो सबै विषय राख्नुहोला, छलफल गरौं,’ दाहालको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘दुवै अध्यक्षका साथै सरकार र पार्टी सञ्चालनलगायतका सबै विषयमा गम्भीर छलफल हुनुपर्छ ।’

पार्टी बैठक नबस्ने, पार्टीको निर्णय तथा सहमति कार्यान्वयन नहुने, विगतका सहमति तोड्ने काम पनि भएको बताउँदै उनले ती सबै विषयमा छलफलको आवश्यकता रहेको आफ्नो निष्कर्ष सुनाए ।

नेकपा सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटीका सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायतका नेताहरू दाहाललाई भेट्न खुमलटार पुगेका थिए ।

यता, छलफलमा दाहालसहित स्थायी कमिटी सदस्य एवं ऊर्जामन्त्री वर्षमान पुन, स्थायी कमिटी सदस्यहरू जनार्दन शर्मा, मातृका यादव, हरिबोल गजुरेललगायतका नेताहरू सहभागी थिए । छलफलका क्रममा उपप्रधानमन्त्री पोखरेलले विगतको सहमति कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने बताए । ती सहमति कार्यान्वयनका क्रममा आफूहरूले समेत सहयोग गर्ने बताए ।

‘विगतको सहमति कार्यान्वयन गरौं, त्यसमा हामी पनि सहयोग गर्छौं,’ पोखरेलले भने, ‘पार्टी एकता जोगाऔं, एकीकरणका बाँकी काम पनि टुंगो लगाऔं । सहमति कार्यान्वयन गर्दै अगाडि बढन आवश्यक छ ।’ अहिलेको अवस्थामा पार्टीलाई फुटबाट जोगाउनुपर्ने बताउँदै ओली निकटका नेताले जनमत र पार्टी कार्यकर्ताको चाहना पूरा गर्नुपर्ने आग्रह गरेका छन् ।

अहिले पार्टी गम्भीर स्थितिमा पुगेको बताउँदै उनीहरूले पार्टी नै फुटेको अवस्थामा जनता र कार्यकर्तालाई के जवाफ दिने भन्दै यताउता गर्नु भनेको जनमत र पार्टी कार्यकर्ताको अपमान हुने बताए । पार्टी र सरकारको नेतृत्वबाट राजीनामा दिनुपर्ने माग उठेपछि ओली निकटका नेताहरू दाहाल निवास खुमलटार पुगेका हुन् । राजधानी दैनिकमा सुभाष साहले समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित