बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

दाहालसहितका शीर्ष नेताले मागे ओलीको राजीनामा, कसले के भने ?

दैनिक नेपाल २०७७ असार १७ गते ७:३८

काठमाडौं, १७ असार । साढे दुई वर्षदेखि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेपछि पार्टीको मुख्य कमान्ड मानिने सचिवालयका पाँच प्रमुख नेताहरूले स्थायी कमिटी बैठकमै उनको राजीनामा मागेका छन् । नौ सदस्यीय सचिवालयमा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित मंगलबार बोल्ने अन्य १२ स्थायी कमिटी सदस्यले पार्टी र सरकार दुवैबाट ओलीको राजीनामा मागेका हुन् ।

ओलीको दोस्रो पटकको सत्तारोहणपछि पार्टीभित्रबाट सबै मुख्य नेताहरूले संगठित रूपमै उनलाई एकैस्वरमा पदबाट हट्न भनेको यो पहिलो पटक हो । यसअघिसमेत उनीहरूले राजीनामा मागेका भए पनि यो स्तरको संगठित शैलीमा ओलीविरुद्ध प्रस्तुत भएका थिएनन् । भारतको योजनामा सत्ताच्युत गर्न खोजिएको र त्यसमा पार्टी नेताहरूको समेत संलग्नता रहेको भन्ने केही दिनअघिको ओलीको अभिव्यक्तिबाट झनै चिढिएका नेताहरूले ओली अब प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा बस्न अयोग्य रहेको बताएका छन् । मंगलबारको स्थायी कमिटी बैठकबाट पनि ओली सत्तामाथि आफ्नै पार्टीभित्रबाट संकटको बादल मडारिएको देखिएको छ ।

गत १० गतेदेखि जारी बैठकमा सरकारको कामको समीक्षा गर्ने एजेन्डा राखिएको भए पनि गत आइतबार ओलीले आफ्नो पदीय मर्यादा प्रतिकूल हुने गरी सरकार ढाल्न भारतीय चलखेल भएको र त्यसमा आफ्नै पार्टीका नेताहरूको संलग्नता रहेको भन्ने खालका अभिव्यक्ति दिए । त्यही अभिव्यक्तिपछि उनको राजीनामाको विषय संगठित रूपमा उठेको हो ।

यसअघि दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको भन्दै गत वैशाख १७ गतेको पार्टी सचिवालय बैठकमा अध्यक्ष दाहालसहित केही नेताहरूले उनको राजीनामा मागेको भए पनि यसरी कमिटीमा ओलीले सरकार र पार्टी दुवै छोड्नुपर्ने विषय सामूहिक रूपमा आउन सकेको थिएन । त्यसबेला पार्टीलाई मिलाएर लैजाने प्रतिबद्धतापछि ओली सच्चिने आशा नेताहरूले गरेका थिए । तर ओलीले योबीचमा आफूलाई सुधारेनन् । आफ्नै पार्टीको बलमा प्रधानमन्त्री बनेका ओलीले उनका कार्यशैलीमाथि प्रश्न उठ्नेबित्तिकै दलका नेतालाई समेत भारतीय चलखेलमा जोडिने पात्रका रूपमा चित्रण गर्न थालेपछि शीर्षनेताहरू उनको अहंकारले सीमा नाघेको निष्कर्षमा पुगेका थिए । त्यही आक्रोशको प्रतिबिम्ब मंगलबारको बैठकमा देखा परेको हो ।

बैठक सुरु गर्दै अध्यक्ष दाहालले नियमित एजेन्डा सीमा समस्या समाधान र कोभिड–१९ भए पनि त्यसलाई थाती राख्नुपर्ने परिस्थिति सिर्जना भएको बताए । ‘कमरेडहरू, पार्टीको नियमित एजेन्डा सीमा र कोभिड–१९ नियन्त्रणमा सरकारले खेलेको भूमिकाबारे समीक्षा थियो, आज स्वाभाविक रूपमा त्यो विषयमा छलफल गर्ने परिस्थिति बनेको छैन,’ दाहालले भने, ‘मदन भण्डारी स्मृति दिवसमा ओलीजीले सरकार ढाल्न भारत सक्रिय रहेको र त्यसमा पार्टीभित्रकै साथीहरू संलग्न छन् भनेर दिनुभएको अभिव्यक्ति कुन आधारमा दिनुभएको हो, प्रस्ट पार्नुपर्‍यो ।’

उनले अहिले पनि देश र पार्टी भारतबाट सञ्चालन हुन्छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले आफ्नै पार्टी र नेताहरूको अपमान भएको बताए । ‘एक त तपाईंको अभिव्यक्ति सामान्य कूटनीतिक मर्यादासमेत नराखेर आएको छ, अर्को नेपालको स्वाधीनता, स्वाभिमान, आत्मनिर्णयको अधिकार र संविधानको मर्ममाथिसमेत प्रहार गरेर गम्भीर आरोप लगाउनुभएको छ,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कि त कहाँ–कहाँ के–के चलखेल भयो पुष्टि गर्नुस्, छानबिन गरौं, नत्र अब तपाईंलाई पार्टी र सरकारमा बस्ने नैतिक आधार छैन, दुवै पद त्याग्नुस् ।’ दाहालले भारतको इसारामा नभई नक्सा नै नछापिँदै पहिले पनि प्रधानमन्त्रीको राजीनामा मागिसकिएको स्मरण पनि गराए । ‘तपाईंले नक्सा जारी भएपछि भारतको इसारामा राजीनामा मागियो भन्नुभयो, गत वैशाख १७ गतेको सचिवालय बैठकमै मैले तपाईंको राजीनामा मागेको थिएँ,’ दाहालले भने, ‘त्यतिखेर नक्सा जारी भएकै थिएन ।’

दाहालले प्रधानमन्त्री ओलीबाट पूर्वसहमति पालना नभएको र अब होला भनेर विश्वास गर्ने आधार पनि नरहेको बताए । ‘प्रधानमन्त्रीजीले पाँच वर्ष नै सरकारले राम्रो काम गर्न पनि सक्छ, स्थिरताको सन्देश पनि जान्छ भनेर त्यहीअनुसारको सहमति गरियो, तर सहमति भएकै भोलिपल्टदेखि मै पार्टीको पहिलो नम्बर अध्यक्ष हुँ, मै कार्यकारी हुँ भन्दै हिँड्नुभयो,’ दाहालले भने, ‘न पुराना सहमति पालना गर्नुभयो, न निर्णयहरू लागू गर्न दिनुभयो, यो तरिकाले त पार्टी पनि विघटन हुन्छ, कम्युनिस्ट आन्दोलनका उपलब्धि पनि बाँकी रहन्न ।’

अध्यक्ष दाहाललगत्तै बोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भारतको विरोध गर्दा पार्टीभित्रकै नेताहरूको मन दुखेको देखेर अचम्ममा परेको बताए । ‘पार्टी बैठकमा नेताहरूले उठाएका एजेन्डा र भारतीय सञ्चारमाध्यमहरूले उठाएका एजेन्डा ठ्याक्कै मिल्छन्,’ ओलीको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘म अचम्ममा पर्छु, भारतको विरोध गर्दा हाम्रो पार्टीका साथीहरूलाई किन चित्त दुख्यो ?’ उनले पार्टी बैठक एजेन्डाभन्दा बाहिर गएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘नन इस्युलाई इस्यु बनाएर बैठक किन अलमलाइरहनुभएको छ ?,’ ओलीले दाहालसँग सोधेका थिए । सरकारले राम्रो काम गर्दागर्दै पनि पदका आकांक्षीहरूको कुण्ठाका कारण आलोचना मात्रै भइरहेको ओलीको भनाइ थियो ।

‘सरकारले राम्रो काम गरिरहेको छ, कसलाई कुन पद चाहिएको छ, कसलाई कहाँ पुग्नु छ, त्यसैले खालि विरोध मात्रै भइराख्या छ, तपाईंहरूले पार्टीको कुरा गर्न सक्नुहुन्न ? खालि गुटको मात्रै कुरा गरेर बस्ने, गुटको मात्रै भेला गर्ने ?’ ओलीले प्रश्न गरे । प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहाललाई आफ्नाबाहेक अरू कसैका बारेमा सोच्नै नसक्ने आक्षेप पनि लगाए । ‘जहिले पनि आफ्नै पद आफ्नै भूमिका, आफ्नै जिम्मेवारीमा मात्रै केन्द्रित भएर के कुरा गरिराखेको ? कति आत्मकेन्द्रित हुन सकेको ?’ ओलीले बैठकमा भने, ‘यत्रो ३२ वर्षदेखि पार्टीको अध्यक्ष भएर पनि पुगेन ? फेरि आफ्नै कुरा गर्ने ?’ कान्तिपुर दैनिकमा विनु सुवेदीले समाचार लेखेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित