शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

दाहालले मागे राजिनामा, ओलीले भने, ‘यो कुण्ठा हो’

दैनिक नेपाल २०७७ असार १७ गते ६:५३

काठमाडौं, १७ असार । सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन् । मंगलबारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हाकाहाकी राजीनामा मागे । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले भने, ‘यो कुण्ठा र पूर्वाग्रह हो ।’

प्रधानमन्त्रीले आफूलाई सरकारबाट हटाउने खेलमा भारत लागिपरेको र त्यसमा नेपालकै नेताहरूको समेत संलग्नता रहेको दुई दिनअघि अभिव्यक्ति दिएका थिए । त्यसलाई लिएर दाहालले भने, ‘दिल्लीले होइन, मैले मागेको हो राजीनामा ।’

‘पार्टीका नेताहरू कुण्ठा पालेर अत्यन्तै पूर्वाग्रही भएर हिँड्न थाल्नु भएको छ । सरकारलाई घेराबन्दी गर्नु, काम गर्न नदिर्नु पार्टी नेताहरूको पूर्वाग्रह हो’, ओलीको जवाफ थियो, ‘सरकारले के कति काम गरेको छ म फेहरिस्त राख्न सक्छु । पूर्वाग्रह राख्ने काम नेताहरूले गर्नु हुँदैन ।’

दाहाललाई वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका थिए । उनीहरूले पनि प्रधानमन्त्री ओलीले सरकार र पार्टीका दुवै नेतृत्व नैतिकताका आधारमा छोड्नुपर्ने माग राखे । दुई दिन वि श्राम लिएर पार्टी बैठकमा सहभागी हुन निर्धारित समयमै मंगलबार बिहान ११ बजे स्थायी समिति सदस्यहरू बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओली भने बैठक सुरु नगरी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गए । झन्डै ४५ मिनेटपछि मात्र उनी बालुवाटार फर्के । र, बैठक सुरु भयो । अघिल्ला बैठकमा भन्दा फरक नेताहरूको कुर्सी स्थायी समितिका सदस्य बसेकै मञ्चको तल्लो लहरमा झारिएको थियो ।

बैठक सुरु गर्दै अध्यक्ष दाहालले सुरुमा आफूलाई भूमिकाविहीन बनाइएको गुनासोे गरे । ‘मंसिर ४ मा मलाई कार्यकारी अधिकार दिने भनेर निर्णय गरियो । त्यसपछि सचिवालय बैठक बसियो । केन्द्रीय समितिको बैठक पनि बसियो । त्यसपछि भने पार्टी ठीक ढंगले अगाडि बढ्न सकेन । बैठक नबस्ने, बैठकप्रति नै अरुचि राख्ने काम प्रधानमन्त्रीले गर्न थाल्नुभयो । यस्तो किन भइरहेको छ ? ’ उनले भने, ‘पार्टीका कामहरू अगाडि बढ्न नदिने, सरकारका कामहरू पनि स्वेच्छाचारितामा प्रधानमन्त्रीले गर्ने अवस्था मात्रै रह्यो । मलाई प्रधानमन्त्रीले भूमिकाविहीन बनाउन खोज्नुभयो ।’

एक स्थायी समिति सदस्यका अनुसार, त्यसपछि उठाए, प्रधानमन्त्री ओलीले १४ असारमा मदन भण्डारी जन्म दिवसका दिन बोलेका अभिव्यक्तिका विषय । ‘प्रधानमन्त्रीले के बोल्नुभयो, भारतले सरकार हटाउन लागेको छ । नेपालकै नेताहरू यसमा लागेका छन् । भारतले हटाउन खोजेका भन्ने कुरा गम्भीर छ । यो झुटो प्रचारबाजी मात्र हो,’ दाहालले भने, ‘हो भने यो खेलमा को–को लागेको हो ? प्रधानमन्त्रीले ती नेताहरूका विषयमा बताउनु पर्‍यो । साँच्चै त्यस्तो हो भने पार्टी एक ढिक्का भएर लड्नु पर्नेमा किन बाहिर बोल्नुभयो ? यस विषयमा प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्‍यो ।’

त्यही सन्दर्भमा उनले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । ‘अब तपाईंबाट पार्टीको नेतृत्व पनि चल्दैन, सरकार पनि चल्दैन । राजीनामा दिनुहोस् भनेर मैले वैशाख १७ गतेको सचिवालय बैठकमै भनेको हो । तपाईंले राजीनामा दिनु भएन । त्यो बेला नक्सा त आएको थिएन नि । अनि अहिले त्यस्तो कुरा गर्ने ? ’ दाहालले भने ।

अघिल्लो पालि पनि प्रधानमन्त्रीलाई भारतले नभई आफूहरूसँगको सहमति तोडेकाले हट्नु परेको दाहालको भनाइ थियो । नक्सा सार्वजनिक गर्ने काम कुनै व्यक्तिको मात्र निर्णय र आँट नभएर पार्टी बैठकको निर्देशनका आधारमा भएको दाहालको भनाइ थियो ।

दाहाल कडा रूपमा प्रस्तुत भएपछि प्रधानमन्त्रीले कडै रूपमा जवाफ दिए । रामकृष्ण अधिकारीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित