शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

भोकले मरियो उद्धार गर भन्दै हजारौं ट्याक्सी व्यवसायी सडकमा

दैनिक नेपाल २०७७ असार १७ गते ६:३६

काठमाडौं, १७ असार । सरकारले लकडाउन केही खुकुलो बनाउँदै निजी प्लेटका सवारीसाधनलाई तीन चार जना राखेर हिँड्न दिए पनि ट्याक्सी चलाएरै बिहान–बेलुकीको जोहो गर्ने ट्याक्सी व्यवसायीलाई भने मानिस राखेर हिँड्न रोक लगाएपछि हजारौं ट्याक्सी व्यवसायी एकैपटक आन्दोलनमा उत्रिएका छन् ।

मंगलबार उनीहरूले राजधानीका सडकमा एकैपटक तीन सय ट्याक्सी तेस्र्याउँदै भने, ‘रोगभन्दा भोकले मर्ने अवस्था आयो, काम गरेर खान देऊ सरकार ।’

ट्याक्सी लिएर सडक संघर्षमा उत्रिएका उनीहरूले बैंक तथा फाइनान्सले गाडी खोस्ने अवस्था आएको भन्दै अब बिहान–बेलुकी खान धौ धौ पर्ने स्थिति आएको बताए । उनीहरूले रातो प्लेटको निजी सवारीमा कोरोना नसर्ने, कालो प्लेटमा मात्र सर्ने यो कस्तो रोग हो सरकार भन्दै थप गुनासो पोखे ।

प्रदर्शनीमा सहभागी अधिकांशले ट्याक्सी अन्य सार्वजनिक सवारी साधनको तुलनामा निकै सुरक्षित हुने दाबी गरे । उनीहरूले यसमा अन्य सवारीसाधनमा जस्तो धेरै मानिसहरू चढ्न नमिल्ने, एउटै परिवारका मात्र चढ्ने, बीचमा कतै नरोकी गन्तव्यमा सिधै पु-याउने भएकाले कोरोना फैलिने जोखिम एकदमै न्यून हुने दाबी गरेका छन् ।

उनीहरूले आफूहरूले सुरक्षाका सबै विधि अपनाएर ट्याक्सी चलाउने प्रतिबद्धता जनाए पनि सरकारले अनुमति नदिएको भन्दै आक्रोश पोखे । ट्याक्सी व्यवसायीले अब जोर–बिजोर प्रणालीका आधारमा भए पनि आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् ।

यसअघि धेरैपटक लामो समयदेखि जारी लकडाउनका कारण आफूहरूले भोग्नुपरेका समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै उनीहरूले मंगलबार यातायात व्यवस्था विभाग घेराउ गरे ।

ट्याक्सी चालक एवं व्यवसायीले सरकारलाई थप दबाब दिन विभागअघि ट्याक्सीको बाक्लो भीड प्रदर्शन गर्दै विरोध जनाएका हुन् । त्यहाँ अखिल नेपाल ट्याक्सी मजदुर संघ र उपत्यका ट्याक्सी स्वरोजगार संघले सयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।

यसअघि नै ट्याक्सी व्यवसायीले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालसँग भेट गरी एक सूत्रीय मागसहितको ज्ञापनपत्र बुझाएका थिए । विभागका महानिर्देशक हमालले सरकारले गरेको निर्णयविपरीत आफूहरूले केहि गर्न नसक्ने बताए । नेपाल यातायात मजदुर संघ बाग्मती प्रदेशका अध्यक्ष जगन्नाथ गौतमले हालसम्म ज्ञापनपत्रको कुनै सुनुवाइ नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको बताए । उनले गत १ असारबाट लकडाउन केही खुकुलो भएसँगै ट्याक्सी सञ्चालन गर्न दिनुपर्ने माग राख्दा कुनै सुनुवाइ नभएपछि आन्दोलन गर्नुपरेको जनाए ।

हाल निजी सवारीसाधन र मोटरसाइकल जोर–बिजोर प्रणालीमा चल्न दिँदा ट्याक्सीचाहिँ किन चल्न नदिएको बुझ्न सकिएन भन्ने प्रतिप्रश्न गर्दै गौतमले भने, ‘बिरामी ओसार्नका लागि एम्बुलेन्ससरह प्रयोग हुने ट्याक्सी निजी सवारी साधनभन्दा पहिले सञ्चालन हुन दिनुपर्नेमा अझै चल्न नदिनु सरकारको कमजोरी हो ।’

उनले सरकारको यस्तो कार्यले अहिले विभिन्न रोगले थलिएका बिरामी एवं आफ्नो निजी सवारी नभएका धेरैले निकै पीडा भोग्नुपरेको बताए । ट्याक्सी व्यवसायी र मजदुरलाई मात्र नभएर आम सर्वसाधारणले पनि निकै कष्ट भोग्नुपरिरहेको उनको दाबी छ । मधुजंग पाण्डेले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित