मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

९४ प्रतिशत कोरोना संक्रमित विदेशबाट आएका र ६ प्रतिशत समुदायका छन् : मन्त्री ढकाल

दैनिक नेपाल २०७७ असार १६ गते १३:४२

काठमाडौँ, १६ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अहिलेसम्म देखिएको कोरोनाभाइरस संक्रमणमध्ये ९४ प्रतिशत विदेशबाट फर्केका व्यक्तिमा रहेको बताएका छन् ।

उनले नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउन्डेसनले सहयोग स्वरूप उपलब्ध गराएका स्वास्थ्य सामग्री बुझ्दै अहिलेसम्म देशमा संक्रमण भएका १३ हजार संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदायस्तरमा संक्रमण फेला परेको बताएका हुन् ।

मन्त्री ढकालले सोमबारसम्म करिब १३ हजार संक्रमितको संख्या पुगेको र त्यसमध्ये ३ हजार २ सय निको भइसकेकाले अहिले पनि नियन्त्रणमै रहेको जनाए । उनका अनुसार दैनिक १० हजार पिसिआर परीक्षण गर्ने गरी ल्याब विस्तार गर्न लागिएको छ ।

यसैबीच, नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउन्डेसनले सातवटा भेन्टिलेटरसहित गगल्स ३ सय थान, सर्जिकल मास्क १ हजार १ सय ५० थान, डिस्पोजेबल कभर ५ सय ५० थान, ग्लोब्स २० हजार थान, बुट ४ सय ५० थान, स्यानिटाइजर २ सय ५० वटा, सोडियम हाइड्रोक्लोराइड ५ लिटरको ४ सय ५० ग्यालेन र साबुन १५ हजार पिस सहयोगस्वरूप उपलब्ध गराएको हो ।

१ करोड ५७ लाख रुपैयाँ बराबरको यी स्वास्थ्य सामग्री दुई चरणमा उपलब्ध गराइने रेडक्रसले जनाएको छ । आज पहिलो चरणमा केही मास्क, स्यानिटाइजर, साबुन, गगल्सलगायतका सामग्री उपलब्ध गराएको हो । भेन्टिलेटर भने दोस्रो चरणमा उपलब्ध गराउने रेडक्रसले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित