शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कोरोनाभाइरस महामारीको अझ खराब अवस्था आउन बाँकी छः डब्लुएचओ

दैनिक नेपाल २०७७ असार १६ गते ७:४४

काठमाडाैं, १६ असार । कोरोना भाइरस महामारीको अझ खराब अवस्था आउन बाँकी नै रहेको हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ । महामारी सुरु भएको ६ महिना पुगे पनि अझै खराब अवस्था आउन सक्ने डब्लुएचओले बताएको हो ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले सरकारहरुले नियन्त्रणका लागि सही नीति अवलम्बन नगरेमा कोरोना भाइरसबाट अझै धेरै मानिसहरु संक्रमित हुने बताएका छन् ।

उनले अझै पनि परीक्षण, ट्रेसिङ्ग, आइसोलशन र क्वारेन्टिन नै महामारी नियन्त्रणमा लिने प्रमुख उपाय रहेको बताए । विश्वभर ६ महिनाको अवधिमा संक्रमितको संख्या एक करोड दुई लाख ६८ हजार भन्दा बढी पुगेको छ । विश्वभर ज्यान गुमाउनेको संख्या पाँच लाख चार हजार भन्दा धेरै पुगेको छ ।

कोरोना भाइरसबाट विश्वमै सबैभन्दा धेरै प्रभावित देश अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कुल संक्रमितको संख्या २५ लाख ८६ हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये एक लाख २६ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

कोरोना भाइरस पहिलोपटक गएको डिसेम्बरमा चीनको वुहानमा देखिएको थियो । कोरोना भाइरसबाट संक्रमित भएका मध्ये आधा अमेरिका र युरोपका हुन् । तर पछिल्लो सयम दक्षिण अमेरिकामा संक्रमण तीव्र गतिमा बढिरहेको छ ।

यस्तै दक्षिण एसिया र अफ्रिकामा पनि संक्रमण बढ्दो क्रममा छ । यी क्षेत्रमा जुलाईको अन्त्यतिर महामारी उच्च तहमा पुग्ने आँकलन छ । डब्लुएचओका महानिर्देशक डा. टेडरोजले सोमबारको ब्रिफिङ्गको क्रममा भने, ‘हामी सबै यो महामारी अन्त्य होस् भन्ने चाहन्छौँ । हामी सबै जीवन जिउन चाहन्छौँ । तर कठीन सत्य यो हो कि, महामारी अन्त्य हुने सम्भावनाको नजिक पनि छैन ।’

डब्लुएचओका महानिर्देशक डा. टेडरोजले चेतावनी दिँदै भने, ‘एक करोड मानिसमा संक्रमण भयो, पाँच लाख मानिसको ज्यान गइसक्यो । जबसम्म सही रुपमा काम गरिँदैन तबसम्म संक्रमणले अझै बिकराल रुप लिने छ । राष्ट्रिय एकता र विश्वव्यापी सहकार्यको कमी तथा विभाजित विश्वले भाइरसलाई थप बिस्तार हुन सहयोग गरिरहेको छ…खराब अवस्था अझै आइसकेको छैन, आउन बाँकी नै छ ।’उनले भने, ‘यस्तो भन्नु परेकोमा म माफी चाहन्छु, तर अहिलेको अवस्था र देखिएको वातारणलाई हेर्दा हामीले खराब अवस्थाको मात्रै अपेक्षा गर्न सकिन्छ ।’

प्रतिक्रिया
सम्बन्धित