शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ महानगरपालिकामा ‘राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७’ सुचारु

दैनिक नेपाल २०७७ असार १५ गते २०:२२

काठमाडौँ, १५ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले काठमाडौं महानगरपालिका भित्र राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७ पुनः सुचारु गरेको छ ।

एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा ९ महिना देखि ५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा रुबेला

खोप लगाउन यस राष्ट्रिय अभियानमा सघाउँदै आएको छ । गत वर्ष फागुनमा शुरु गरिएको यो बहुप्रतीक्षित खोप अभियान कोरोनाभाइरसको महामारी तथा लकडाउनले गर्दा पूरा हुन सकेको थिएन ।

काठमाडौं महानगरपालिकाका खोप केन्द्रमा न्यूनतम ६ फिट दूरी कायम गर्दै तथा अन्य आवश्यक सबै सुरक्षाका मापदण्ड अपनाई असार ११ बाट शुरु भएको छ । यो अभियानमा काठमाडौं महानगरपालिकाभित्र रहेका १ लाखभन्दा बढी बालबालिकालाई दादुरा रुबेला खोप लगाउने सरकारी लक्ष्य छ ।

सरकारी तथ्याङ्कले सन् २०१५ पश्चात् दादुरा–रुबेला रोगका घटना निकै बढ्दो क्रममा रहेको देखाउँछ । कोरोनाभाइरस महामारीकै बेलामा काठमाडौंलगायत विभिन्न जिल्लाका बालबालिकामा दादुराको संक्रमण देखिएको छ ।

सन् २०२० को पाँचौ महिना मेको मध्यसम्ममा ३२५ भन्दा बढी बालबालिकामा दादुरा संक्रमण पुष्टि भइसकेको छ । सन् २०१९ मा ४३१ बालबालिकामा यो संक्रमण देखिएको थियो ।

परिवार कल्याण महाशाखाका अनुसार पहिले खोप लगाएका तथा नलगाएका ९ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिकालाई यस अभियानअन्तर्गत अनिवार्य खोप लगाउनुपर्छ ।

यो अभियान काठमाडौं महानगरका ३२ वडाहरूमा तीन चरणमा सञ्चालन भइरहेको छ । पहिलो चरणअन्तर्गत असार ११ गतेदेखि १३ गतेसम्म वडा नं. ६, ७, ८,९, १०, ३१ र ३२ मा खोप कार्यक्रम सञ्चालन गरिएको छ ।

दोस्रो चरणमा वडा नं. १, २, ३, ४, ५, ११, १२, १३, २६, २७, २८, २९ र ३० मा असार १४ देखि १६ गतेसम्म खोप कार्यक्रम सञ्चालन भइरहेको छ । त्यस्तै, तेस्रो चरणमा वडा नं. १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४ र २५ मा असार १७ देखि १९ गतेसम्म खोप लगाइनेछ ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत स्वास्थ्यसम्बन्धी जनसचेतना अभिवृद्धि कार्यमा सहयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रसँग गत वर्ष समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।

यही समझदारीअन्तर्गत एनसेलले युनिसेफ तथा साझेदारहरूको प्राविधिक सहयोगमा खोप अभियानका लागि सञ्चार तथा जनसचेतना अभिवृद्घिमा सरकारलाई सहयोग पुर्याउँदै आएको छ ।

यो सहकार्यले बालबालिकाको जीवनरक्षासँगै सन् २०२३ सम्ममा दादुरा–रुबेला निर्मूल गर्ने नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको लक्ष्यमा योगदान पु¥याउने विश्वास एनसेलले लिएको छ ।

एनसेलले सरकारकालाई कोरोनाभाइरससम्बन्धी जनचेतना अभिवृद्धि तथा रोकथाममा पनि सघाउँदै खाएको छ । यसअघि एनसेलले डेङ्गीको बारेमा जनसचेतना अभिवृद्घिका लागि पनि सहयोग गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित