शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अर्थतन्त्र सामान्य अवस्थामा फर्कन लागेको छ : अर्थमन्त्री खतिवडा

दैनिक नेपाल २०७७ असार १५ गते १३:५०

काठमाडौँ, १५ असार । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्र सामान्य अवस्थामा फर्कन लागेको बताएका छन् ।

खतिवडाले नेपाल उद्योग परिसंघको १७ औँ वार्षिक साधारणसभामा बोल्दै कोरोनाभाइरस संक्रमणको समयभन्दा अगाडीकै अवस्थामा अर्थतन्त्र पुग्न लागेको बताएका हुन् ।

उनले भने, “लकडाउनको समयमा घटेर २० प्रतिशतमा आएको वैदेशिक व्यापार अहिले बढेर ८० प्रतिशत पुगेको छ ।”

यस्तै, भन्सारमा राजश्व संकलन पनि सुध्रिदो अवस्थामा रहेको र पुरानै अवस्थामा नआइसके पनि ८० प्रतिशतसम्म राजश्व संकलन हुन लागेको अर्थमन्त्रीको भनाइ छ ।

वैदेशिक व्यापार सुधार हुँदै गएपछि त्यसको प्रत्यक्ष असर भन्सारमा परेको हो ।

त्यसैगरी, झण्डै तीन महिनापछि आन्तरिक बजार खुलिसकेको र अन्तर्राष्ट्रिय श्रम बजार पुरानै अवस्थामा आउन लागेकोसमेत अर्थमन्त्रीले उल्लेख गरे ।

नेपालले पनि वैदेशिक रोजगारी खुला गर्न लागेको जानकारी दिँदै उनले भने, “हामीले पनि नेपालीलाई विदेश पठाउने तयारी गरिरहेका छौँ ।”

महामारीकै समयमा पनि जेठ महिनामा करिब एक खर्ब रुपैयाँ विप्रेषण भित्रिएकाले अर्थतन्त्र बैंकिङ क्षेत्रको अवस्था चिन्ताजनक नरहेको मन्त्री खतिवडाको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित