बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

कोरोना त्रासको असर : आत्महत्या बढेर दिनहुँ १९

दैनिक नेपाल २०७७ असार १५ गते ७:२९

काठमाडौं, १५ असार । गत मंगलबार बिहान १० बजेतिरको कुरा हो । काठमाडौं–भक्तपुरको साँध छुट्याएर बग्ने मनोहरा खोलामा एक युवकले हामफाले । प्रत्यक्षदर्शीले दिएको सूचनाका आधारमा प्रहरीले उनको खोजी सुरु गर्‍यो तर रातभरको दर्के झरीका कारण उर्लेको मनोहराले ती युवकलाई एकैछिनमा बगायो ।

बुधबार दिउँसो मात्रै प्रहरीले हामफाल्नेको शव फेला पार्‍यो । उर्लंदो खोलामा हामफाल्ने युवक रामेछापको मन्थली घर भई काठमाडौं, जडीबुटी बस्ने ३४ वर्षीय सानुबहादुर कार्की रहेको प्रहरीले पत्ता लगायो ।

सानुबहादुर आफैंलाई सिध्याउन किन तम्सिए ? महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी दक्ष बस्नेतले आत्महत्या पुष्टि भए पनि त्यसका कारण यकिन भइनसकेको बताए । तर परिवारका अनुसार दुई वर्षअघि किस्ताबन्दीमा गाडी किनेका सानु पछिल्ला दिन कसरी गाडीको किस्ता तिर्ने भन्ने तनावमा थिए । परिवारका सदस्यले प्रहरीलाई बताएअनुसार लकडाउनसँगै गाडी थन्किएपछि उनको आम्दानीको बाटो सुकेको थियो । त्यही बेला गाडी बेच्ने कम्पनीले उनलाई चैतयताको सबै किस्ता तिर्न दबाब दिइरहेको थियो । कार्कीको घटना अनुसन्धानमा जुटेका एक प्रहरीले आर्थिक संकटकै कारण तनावमा आएर आत्महत्या गरेको बताए ।

कोरोना संक्रमण बढ्दै जाँदा काम गरिखाने वर्ग आर्थिक संकटको चपेटामा मात्रै परेको छैन, भोलि के हुने हो भन्ने भयमा पनि पिरोलिएको छ । अछामको बयलपाटा अस्पतालमा कार्यरत २७ वर्षीय सिद्धार्थ आउजी कामबाट निकालिए । गरिखाने बाटो बन्द भएपछिको तनाव झेल्न नसकेर विक्षिप्त बनेका सिद्धार्थले जेठ २६ मा आफ्नै शरीरमा आगो झोसे । प्रत्यक्षदर्शीले तत्कालै आगो निभाएर उनलाई उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेजमा त पुर्‍याए तर उनलाई बचाउन सकेनन् ।

कोरोना संक्रमणकै कारण रोजीरोटी खोसिएपछि भारतका विभिन्न सहरबाट कैयौं दिनको कष्टप्रद यात्रा छिचोल्दै स्वदेश फर्केकाहरूले पनि सानु र सिद्धार्थले जस्तो आफैंलाई सिध्याउने बाटो रोजेका घटना सार्वजनिक भइरहेका छन् । असार ८ मा बझाङको छबिस पाथीभेरा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ३२ वर्षीय रमेश धामीले क्वारेन्टाइनभित्रै आत्महत्या गरे । भारतको बैंग्लोरबाट असार ६ मा फर्केका धामीले किन आत्महत्या गरे भन्ने खुलिसकेको छैन । तर उनका परिवारका सदस्यका अनुसार रोजगारी गुमेको र परिवार कसरी पाल्ने भन्ने तोडले उनी छटपटाइरहेका थिए ।

गुल्मीको छत्रकोट गाउँपालिकामा जेठ १७ गते यस्तै अप्रिय घटना भयो । भारतको दिल्लीबाट कैयौं दिनको कष्टप्रद यात्रापछि भैरहवा नाका हुँदै गाउँ फर्केका चन्द्रबहादुर परियार क्वारेन्टाइनमा बसेकै दिन आफूलाई सिध्याउने अप्रिय निर्णयमा पुगे । पिसाब फेर्न भन्दै स्कुलछेवैको जंगलमा छिरेका उनी फर्केर आएनन् । क्वारेन्टाइन रहेको वडा ४ का अध्यक्ष डिलाराम न्यौपानेका अनुसार त्यतिबेला क्वारेन्टाइनमा बसेकाको स्वास्थ्य जाँच चलिरहेको थियो । धेरै बेरसम्म पनि नफर्केपछि उनको खोजी सुरु भयो ।

नजिकैको दबदबेको रूखमा कटनको गम्छा च्यातेर पासो लगाई उनले प्राण उडाइसकेका रहेछन् । वडाध्यक्ष न्यौपानले चार छोराका बाबु चन्द्रले आफैंलाई सिध्याउने अप्रिय निर्णय किन लिए कसैले भेउ नपाएको बताए । जनकराज सापकाेटाले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित