शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

स्वास्थ्यमन्त्रीको बोली एउटा, वास्तविकता अर्कै

दैनिक नेपाल २०७७ असार १५ गते ७:१४

काठमाडौं, १५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने बताए पनि पछिल्लो एक सातामा परीक्षण दर भने खुम्चिँदै गएको छ ।

पछिल्लो एक सातामा औसत दैनिक पाँच हजार आठ सय नौ जनाको मात्रै कोरोना परीक्षण हुँदै आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले गत २६ जेठमा बसेको संसद् बैठकमा १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने जानकारी दिएका थिए ।

निजी प्रयोगशालाले तीन हजार र बाँकी सरकारी ल्याबबाट गरी प्रतिदिन १० हजारको पिसिआर विधिमा परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी थियो । जनशक्ति व्यवस्थापन, ल्याबलाई २४ घण्टा सञ्चालन गर्ने र निजी क्षेत्रबाट परीक्षण गर्ने गरी तयारी अगाडि बढाइएको स्वास्थ्यमन्त्री ढकालले बताएका थिए । प्रतिप्रदेशबाट एक हजारका दरले र निजी क्षेत्रबाट तीन हजारका दरले प्रतिदिन परीक्षण हुने बताए पनि कार्यान्वयन भएन ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले आज (सोमबार)देखि दैनिक १० हजारको हाराहारीमा कोरोना परीक्षण गर्ने गरी तयारी भएको बताए । उनले भने, ‘दैनिक आठ हजार जनाको कोरोना परीक्षण गर्ने गरी क्षमता अभिवृद्धि भएको छ ।’

पछिल्लो एक सातामा ४० हजार ६ सय ६६ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण हुँदै आएको छ । गत सोमबार ६ हजार एक सय ९८, मंगलबार चार हजार नौ सय ९५ र बुधबार ६ हजार आठ सय २८ जनाको कोरोना परीक्षण गरिएको थियो । यस्तै, गत बिहीबार ६ हजार पाँच सय ४३, शुक्रबार ६ हजार पाँच सय ३४, शनिवार चार हजार ६ सय ६ र आइतबार चार हजार ९ सय ६२ जनाको कोरोना परीक्षण भएको थियो ।

हालसम्म १२ हजार ७ सय ७२ जनालाई कोरोना संक्रमण देखिएको छ । आइतबार थप चार सय ६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको हो ।

हालसम्म डिस्चार्ज हुनेको संख्या तीन हजार १३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । कुल संक्रमितमध्ये २८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रशान्त वलीले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित